विराटनगर/ मुस्लिम धर्मग्रन्थ पढाइ हुने विराटनगरको मदरसाका मौलवी (प्रधानाध्यापक) माथि यौन दुव्र्यवहारको आरोप लागेको छ । विराटनगर–८ अशोक चौकस्थित मदरसा रजाए मुस्तफा विद्यालयका प्रधानाध्यापक विराटनगरका ४० वर्षीय अमिरूद्दिन मियाँमाथि दुई जना छात्रालाई यौन दुव्र्यवहार गरेको आरोप लागेको हो ।

प्रधानाध्यापक मियाँले पढ्न आएकी १४ र १३ वर्षीया बालिकाहरूलाई यौन दुव्र्यवहार गरेको आरोप छ । १३ वर्षीया बालिकालाई बुधबार र १४ वर्षीयालाई मङ्गलबार प्रअ मियाँले यौन दुव्र्यवहार गरेको आरोप छ । पीडित बालिका र आफन्तले जिल्ला प्रहरी कार्यालय मोरङमा यौन दुव्र्यवहार गर्ने प्रअ मियाँविरुद्ध किटानी जाहेरी बिहीबार दिएको छ । होमवर्क हेर्ने बहानामा मियाँले दुई छात्रालाई यौन दुव्र्यवहार गरेको आरोप छ । मुस्लिम धर्मग्रन्थ पढाइ हुने उक्त विद्यालयमा बिहान ६ देखि ८ बजेसम्म मात्र पढाइ हुने गरेको छ ।

मङ्गलबार प्रअ (मौलवी) ले दिएको होमवर्क देखाउन बुधबार बिहान उनको कार्यकक्षमा गएकी बालिकालाई मियाँले जबरजस्ती करणीको प्रयास गरेका थिए । कार्यकक्षमा एक्लै बनाएर मौलवीले संवेदनशील अङ्गमा छोएर कपडा खोल्न खोजेपछि बालिकाले प्रतिकार गरेकी थिइन् ।

‘उर्दू भाषा सुनाउन बुधबार बिहान ८ बजेको समयमा प्रअ मियाँको कार्यकक्षमा पुगेको थिएँ । मौलवीले भन्न लगाएको उर्दू भाषा पढेर सुनाएँ । त्यसपछि राम्रो लागेको भन्दै प्रअले ढोकाको चुकुल बन्द गरी संवेदनशील अङ्गहरू छुन थालेपछि मैले लगाएको सुरुवाल खोल्न खोजेपछि प्रतिकार गरेर त्यहाँबाट उम्किएँ’ –पीडित बालिकाले प्रहरीमा दिएको किटानी जाहेरीमा उल्लेख छ ।

प्रअ मियाँले घटना घरमा सुनाए बुबा–आमाको बदनाम गर्ने डर देखाउँदै धम्की दिएपछि बालिकाले घटना आमालाई सुनाएकी थिइनन् । छोरीमाथि दुव्र्यवहार भएपछि परिवारले स्थानीयको सहयोगमा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका हुन् । १३ वर्षीया बालिकाले जाहेरी दिएपछि १४ वर्षीया बालिकाले पनि मङ्गलबार आफूमाथि यौन दुव्र्यवहार गरेको भन्दै जाहेरी दिएकी छन् । घटना बाहिर आए बदनाम हुने डरले बसेकी बालिका साथीले जाहेरी दिएपछि आफूलाई पनि आँट आएको बताइन् ।

मियाँ फरार
बाल यौन दुव्र्यवहार गर्ने प्रअ मियाँविरुद्ध अभिभावकको सहयोगमा दुई बालिकाले बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिएपछि मियाँ फरार छन् । वडा प्रहरी कार्यालय विराटनगर ‘ख’ बाट खटिएको प्रहरी टोली बिहीबार मियाँको घर पुग्दा उनी फेला परेनन् । मदरसा रजाए मुस्तफा विद्यालयका प्रअ भएको १२ वर्ष पूरा भएको छ । २०४४ सालमा स्थापना भएको उक्त विद्यालयको प्रअ मियाँ २०६४ सालमा भएका हुन् ।

बालिकाको उजुरी परेपछि मौलवीको खोजी शुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी लोकदर्शन थापाले जानकारी दिए । एक व्यक्तिविरुद्ध २ जनाको जाहेरी परेपछि अनुसन्धान शुरु गरिएको डिएसपी थापाले बताए । प्रहरीका अनुसार दुवै बालिका कक्षा पाँचमा अध्ययनरत छन् ।