धरान/ लिम्बू पत्रकार सङ्घ सुनसरीको तेस्रो अधिवेशनबाट कुशल कुरूम्भङ अध्यक्षमा निर्वाचित भएका छन् ।

धरान–१५ को चुम्लुङ हिम परिसरमा मङ्गलबार सम्पन्न अधिवेशनले समितिको उपाध्यक्षमा धीरेन लिम्बू, सचिवमा मेरिना तुम्सा, कोषाध्यक्षमा सिङ्गबहादुर मादेन चयन भएका छन् । यसैगरी सदस्यहरूमा मौसम पारघरी खजुम, यशोदा लिम्बू, रेश्मा सुब्बा रहेका छन् । केन्द्रीय प्रतिनिधिमा हर्ष सुब्बा, प्रदीप मेन्याङ्बो, निलिफा सुब्बा, सुमन जवेगु, सन्तोष कुरुम्बाङ, यशोदा सेने र लक्ष्मी थेबे रहेका छन् ।

सो अवसरमा किरात याक्थुङ चुम्लुङका इटहरी नगर अध्यक्ष राम नेम्वाङ लिम्बूले पत्रकार सक्रिय रूपमा अघि बढ्न आवश्यक रहेको बताउँदै नयाँ कार्य समितिले आउने दिनमा लिम्बू पत्रकारहरूको चुम्लुङसँग समन्वय गर्दै जानुपर्नेमा जोड दिए ।

किरात याक्थुङ चुम्लुङले प्रभावकारी रूपले लिम्बू पत्रकारलाई समेट्न नसकेको गुनासो लिम्बू पत्रकार सङ्घका केन्द्रीय उपाध्यक्ष विजय लावतीले गरेका छन् । विभिन्न कारणले केन्द्रीयस्तरबाट समेत कार्यक्रम गर्नै नसकेको र अब जिल्लालाई सक्रिय बनाएर जाने योजना रहेको उपाध्यक्ष लावतीले बताए ।

लिम्बूहरूको सामाजिक, आर्थिक, सांस्कृतिक कुराहरूलाई विभिन्न सञ्चार माध्यममा ल्याउन जातीय पत्रकारहरूको आवश्यकता रहेको वरिष्ठ पत्रकार हर्ष सुब्बाले बताए । पत्रकारिता क्षेत्रमा आउने र पलायन हुने भएकोले यस पेशामा टिकाइरहने बनाउन युवापुस्तालाई प्रोत्साहन गर्नु जरुरी रहेको उनले बताए ।

नवनिर्वाचित पदाधिकारीहरूलाई लिम्बू पत्रकार सङ्घका केन्द्रीय महासचिव मिलन लिम्बू, दिलकुमार लिम्बू, किरात याक्थुङ चुम्लुङ सुनसरी जिल्ला अध्यक्ष मोहन हुक्पा चोङ्वाङ, सञ्चारकर्मी लक्ष्मी थेवेलगायतले शुभकामना दिएका थिए ।