भद्रपुर/ जिल्ला प्रहरी कार्यालय झापाले पछिल्लो समय चोरी तस्करीमा कडाइ गरेको छ । दुई हप्ताअघि झापा र इलामबाट तस्करी भन्ने शीर्षकमा ब्लाष्ट टाइम्स दैनिकमा समाचार सार्वजनिक भएपश्चात् प्रहरीले सीमा क्षेत्रमा रहेका प्रहरी केन्द्रलाई ठाडो निर्देशन दिँदै जिल्ला प्रहरीले सक्रियता देखाएको हो ।

इलाका तथा चौकीमा रहेका केही प्रहरीको कारोबारीसँग उठबस भएको स्थानीयबाट गुनासो आएपछि प्रहरी हेरफेर गरेर शान्ति सुरक्षासँगै भन्सार चोरी तस्करी नियन्त्रणमा लागेको प्रहरीको दाबी छ । यो उद्देश्यबाट यही पुसको अवधिमा मात्र प्रहरीले ४७ लाख ७ हजार ५ सय रुपैयाँ मूल्य बराबरको सामान बरामद गरेको तथ्याङ्कले देखाएको छ । जसमा सुपारी, चौपाया, लत्ताकपडा, मोटर पार्ट्स, किराना प्रमुख रहेका छन् ।

जिल्लाले उपलब्ध गराएको तथ्याङ्क अनुसार एक दिनमा ११ लाख ७७ हजार ५ सय रुपैयाँ मूल्य बराबरको सुपारी बरामद गरेको छ । प्रहरीले ३ सय ३२ वटा चौपाया र संलग्न सवारी साधन गरी ११ लाख २० हजार मूल्यको सामान भन्सारमा बुझाएको छ ।

त्यसैगरी ११ लाख ८ हजारको लत्ताकपडा र ८ लाख ८१ हजार रुपैयाँ मूल्य बराबरको किराना सामान बरामद गरेको उल्लेख छ । यो अवधिमा ८१ क्युफिट काठबाट डेढ लाख, सवारी साधनका पार्टपुर्जाबाट १ लाख २५ हजार र १ लाख ४९ हजार रुपैयाँ मूल्य बराबरको विद्युतीय सामग्रीसमेत बरामद गरी राजस्व सङ्कलन गरेको छ ।

प्रहरीले गरेको कडाइमा लागूऔषधमा संलग्नसमेत फन्दामा परेका छन् । ब्राउन सुगर १ सय ७२ दशमलव ७३ ग्राम, अफिम १ किलो ५ सय ग्राम, एमफेटामाइन ५३ ग्राम, नाइट्रोजन ट्याब्लेट ४० वटा, डाइजेपाम, फेनारगन र लुपिजेसिफ गरी १ सय ८० ट्याब्लेट र इस्पासमिड १ सय ५० ट्याब्लेट बरामद गरिएको जनाइएको छ । अन्दाजी ६ लाख ९२ हजार रुपैयाँ बजार मूल्य रहेको लागूऔषध बरामद गरेको जनाइएको छ । १४ वटा मुद्दा दर्ता भएका छन् भने १ महिलासहित १५ जना संलग्न नियन्त्रणमा रहेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

६ महिनामा अढाइ करोड राजस्व सङ्कलन
प्रहरीले ६ महिनाको अवधिमा २ करोड ५३ लाख ७६ हजार ४ सय ५८ रुपैयाँ राजस्व सङ्कल गरेको छ । भन्सार चोरी तस्करी नियन्त्रण अभियान अन्तर्गत सुपारी, लत्ताकपडा, किराना, पशु चौपायालगायतबाट राजस्व सङ्कलन गरिएको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जनाए । खुला सीमा भए पनि प्रहरी केन्द्रलाई सक्रिय बनाइएको उनले दाबी गरे ।

झापामा प्रहरी प्रमुख भएर आएको एक महिनाको अवधिमा धेरै परिर्वतन हुनथालेको एसपी कृष्णप्रसाद कोइरालाको दाबी छ । उनले चौपाया मात्र ३ सय ३२ वटा पक्राउ गरी कारबाहीको प्रक्रियामा पु¥याएको बताए ।

सीमामा बसेर कारोबारीसँग उठबस भएका केही प्रहरीलाई जिल्ला तानेर निर्देशनसहित नयाँ प्रहरीलाई सो क्षेत्रमा पठाइएको उनको भनाइ छ । झापामा कारोबारीसँग मिलेर पैसा कमाउने सोचले कुनै पनि प्रहरी काम गर्न यहाँ आउँछन् भने त्यो दिवासप्न मात्र हुने उनले बताए ।