विराटनगर/ खसीको मासु किनेर घर फर्किदै गरेकी मोरङको लेटाङ नगरपालिका एक बालिका बलात्कृत भएकी छन् ।
सोमबार साँझ गाउँमा काटिएको खसीको मासु किनेर घर जाने क्रममा ती बालिका बलात्कृत भएकी हुन् । बालिकालाई जबरजस्ती बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लेटाङले जाँतेका ४६ वर्षीय भद्रबहादुर कार्कीलाई मङ्गलबार पक्राउ गरेको छ । पीडितले दिएको जाहेरीको आधारमा कार्कीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता लोकदर्शन थापाले जानकारी दिए ।
डिएसपी थापाका अनुसार गाउँबाट खसीको मासु लिएर आउँदै गर्दा लेटाङ–८ की एक बालिकालाई कार्कीले आफ्नै घरभित्र लगेर बलात्कार गरेको खुलेको छ । ‘मासु किनेर आउँदै गरेकी बालिकालाई कार्कीले पैसा दिन्छु भन्दै आफ्नो घरमा लगेर घरमा पनि कोही नभएको मौका पारी जबरजस्ती करणी गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ’ –डिएसपी थापाले भने ।
ललाई–फकाई प्रलोभनमा पार्न खोजे पनि इन्कार गरेपछि बालिकालाई विभिन्न धम्की दिँदै भित्र लगेर बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ । बालिकाले घटनाका बारेमा सबै कुरा बताएपछि अभिभावकले कार्की विरुद्ध किटानी जाहेरी दिएका थिए ।
पक्राउ परेका कार्की विरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन मङ्गलबार म्याद थप गरेर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । बलात्कृत बालिकालाई भने उपचार र स्वास्थ्य परीक्षणका लागि कोशी अस्पताल विराटनगर ल्याइएको छ ।
त्यस्तै लेटाङ नगरपालिकाकै १४ वर्षीया एक बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा लेटाङ–४ का २५ वर्षीय राजु दमाई पक्राउ परेका छन् । पक्राउ परेका दमाईले लेटाङ–५ खेरुवामा स्कुल जाँदै गरेकी १४ वर्षीया बालिकामाथि यौन दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ ।
बाटोमा रहेको एकान्त जङ्गलमा पछाडिबाट आएर मुख थुने पनि उम्किएर भाग्न सफल भएका कारण बालिका बलात्कृत हुनबाट जोगिएकी थिइन् । फुत्किएर भाग्ने क्रममा बालिकाको अनुहारमा सामान्य चोट लागेको डिएसपी थापाले बताए । उनलाई पनि उपचार र स्वास्थ्य परीक्षणका लागि कोशी अस्पतालमै ल्याइएको छ ।
डिएसपी थापाका अनुसार बालिकाका अभिभावकले किटानी जाहेरी दिएपछि पक्राउ परेका दमाईविरुद्ध बाल यौन दुव्र्यवहार मुद्दा चलाउन मङ्गलबार म्याद थप गरेर घटनाको अनुसन्धान शुरु गरिएको छ ।