मधुमल्ला/ पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगसँगै सहज पहुँच र विस्तारका कारणले मानिसको जीवनशैलीलाई सहज त बनाएको छ, त्यससँगै यसले विभिन्न प्रकारका समस्या तथा विकृति पनि निम्त्याउँदै गएको छ ।
पछिल्लो समय सामाजिक सञ्जालकोे दुरुपयोगले भयानक रूप पनि निम्त्याएको छ । सामाजिक सञ्जाल फेसबुकमा भएको चिनजानका कारण मायाजालमा परेकी मोरङ उर्लाबारीकी एक किशोरीको अहिले बिचल्ली भएको छ । घटना विवरणअनुसार उर्लाबारीकी निशा धिमाल (परिवर्तित नाम) लाई २०७५ साल चैत्रमा निशान धिमालले सामाजिक सञ्जाल फेसबुकमा साथीका लागि अनुरोध पठाए । निशाले त्यस अनुरोधलाई स्वीकार गरिन् । त्यसपछि उनीहरूबीच फेसबुकमा कुराकानीको शृङ्खला बढ्न थाल्यो । मोरङको बेलबारी–३ का १९ वर्षीय निशानले निशालाई माया गर्छु भन्दै मोबाइल नम्बर मागे ।
निशाले नम्बर दिन अन्कनाइन् । पटक–पटक मोबाइल नम्बर मागेपछि उनले गलत नम्बर दिइन् । निशाको फेसबुकमा भने उनको नम्बर थियो । त्यसपछि फेसबुकमा नम्बर हेरेर निशानले उनलाई फोन सम्पर्क गरे । निशानले किन गलत नम्बर दिएको भनेपछि उनी अचम्ममा परिन् । कसरी नम्बर पाउनुभयो भन्दा उनले फेसबुकबाट पाएको प्रतिक्रिया दिए । त्यसपछि निशाले आफ्नो दाइको नम्बर भएकाले कल नगर्न भनेकी थिइन् । तर, निशानले कल गर्न छोडेनन् ।
त्यसपछि उनीहरूबीच कुराकानी बढ्दै गयो । त्यस क्रममा निशानले पटक–पटक प्रेम प्रस्ताव पनि राखे । फेसबुक र फोनमा उनीहरूबीच कुराकानी बाक्लिन थाल्यो । त्यसपछि उनीहरूले उर्लाबारीमा पहिलो पटक भेट गरे । निशानले निशालाई धेरै माया गर्ने बताए । त्यसपछि उनीहरूबीचको माया–प्रेमको गोरेटो अघि बढ्यो । उनीहरू माया–प्रेममा मात्र सीमित भएनन् । उनीहरूबीच यौन सम्पर्क पनि हुन थाल्यो । भर्खर १६ वर्ष पुगेकी निशालाई ललाई–फकाई निशानले पटक–पटक यौन सम्पर्क गरे । वैशाखदेखि उनीहरूको भेटघाट बढ्न थाल्यो ।
निशानले यौन सम्पर्कको बेला तिमी मेरी बूढी हो, मैले जे गरे पनि के हुन्छ भन्ने गरेका थिए । यौनका बारेमा खासै जानकारी नभएकी निशाले ४ महिनापछि आफ्नो पेटमा बच्चा भएको थाहा पाइन् । त्यसपछि उनले डाक्टरमा देखाउँदा औषधि सेवनबाट बच्चा फ्याँक्न नमिल्ने भएपछि उनले निशानलाई सो कुरा सुनाइन् । त्यसपछि निशानले जेसुकै गर भन्दै निशाको मोबाइल नम्बर ब्लक लिष्टमा राखिदिए । त्यसपछि उनलाई सङ्कट प¥यो । अब के गर्ने भन्ने बारेमा उनलाई केही थाहा भएन । निशाको उमेर सानै भएका कारण उनको पेट पनि देखिएको थिएन ।
बच्चा पेटमा हुर्किरहँदासमेत आफन्त तथा स्थानीयले चालसमेत पाएनन् । २०७६ साल माघ १ गते एक्कासि निशाले बच्चा जन्माउँदा आफन्त तथा स्थानीय चकित भए । त्यसपछि बच्चाको बाबु को हो भनेर सोधीखोजी गर्दा बेलबारी–३ का १९ वर्षीय निशान भएको खुल्यो । त्यसपछि आफन्त तथा स्थानीयबासी निशानकै घर पुगेर निशालाई जिम्मा लिन अनुरोध गरे । तर, निशानले आफ्नो बच्चा नभएको भन्दै निशालाई स्वीकारेनन् ।
त्यसपछि बेलबारीमै धिमाल समुदायको महाराज थानमा भेला भएर त्यस विषयमा छलफल पनि भयो । त्यसमा पनि निशानले स्वीकार गरेनन् । बेलबारी नगरपालिकाको न्यायिक समितिमा पनि छलफल भयो । त्यहाँ पनि निशालाई स्वीकार नगर्ने उनले अडान लिए ।
स्थानीय महिला अधिकारकर्मीसमेत निशानको गल्ती ढाकछोप गर्न सक्रिय बने । न्यायको खोजीमा रहेकी निशाले न्याय नपाएपछि दुःखी बनेकी छन् । ७ दिनको छोरा बोकेर उनी न्यायको खोजीमा भौंतारिरहेकी छन् । निशानले विहे गर्ने आश्वासन दिएर आफूलाई ललाई फकाई यौन सम्पर्क गरेको पीडित किशोरीले बताइन् ।
आफूले पटक–पटक निशानलाई जानकारी गराउँदासमेत जिम्मा लिन नमानेकाले कानूनी कारबाहीको बाटो रोज्न बाध्य हुने बताइन् । उनले जबरजस्ती करणीअन्तर्गतको मुद्दामा उजुरी दिने तयारी थालेकी छन् । आफूलाई प्रलोभनमा पारेर यौन सम्पर्कपश्चात् बच्चा बनाएर बिचल्ली बनाएको भन्दै उनले न्यायका लागि सहयोग गर्न महिला अधिकारकर्मी, सञ्चारकर्मी एवम् सबैलाई अनुरोध गरेकी छन् ।
प्रहरी प्रशासनले समेत उजुरी दिन नमिल्ने भन्दै मिल्न दबाव दिएको पीडित परिवारले बताएका छन् । यता इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर सुवास राईले उजुरी परेको खण्डमा पक्राउ गरी कानून बमोजिम कारबाही गर्ने बताएका छन् ।