भण्टाबारी/ कोशी गाउँपालीकाको कार्यालयले लौकही बजार व्यवस्थित गर्न लिजमा जग्गा उपलब्ध गराउन आह्वान गरेको छ ।

कोशी गाउँपालिका वार्ड १ स्थित लौकही बजार अव्यवस्थित हुँदा आवतजावत गर्न समस्या हुनुका साथै दुर्घटनासमेत हुने गरेकाले व्यवस्थित गर्न गाउँपालिकाको कार्यालयले जग्गा मागेको हो । लौकही बजारको राजमार्ग र बजारबाट भन्सारतर्फ जाने उत्तर दक्षिण बाटोमा हटिया लाग्दै आएकोमा सवारीसाधन तथा सर्वसाधारणलाई आवतजावत गर्न समस्या हुँदै आएको र बारम्बार दुर्घटनासमेत हुने गरेको कोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरी बताउँछन् ।

लौकही हटियालाई व्यवस्थित गर्दै आवतजावत तथा दुर्घटना रोकथाम गर्न गाउँपालिकाले लिजमा जग्गा मागेको उनले बताए । कोशी गाउँकार्यपालिकाको बैठकले मङ्गलबार र शुक्रबार लाग्दै आएको लौकही बजार व्यवस्थित गर्न पूर्व पश्चिम राजमार्गको उत्तर दक्षिण ५०० मिटर क्षेत्रभित्र सडक आवगमन भएको प्लट मिल्ने कम्तिमा डेढ बिघादेखि २ बिघासम्म जग्गा कम्तिमा १५ वर्षका लागि लिजमा मागेको हो । जग्गा उपलब्ध गराउन इच्छुक जग्गाधनीले आफूले उपलब्ध गराउन सक्ने कबोल अङ्क खुलाई आफ्नो स्वामित्वको आवश्यक कागजातसहित आउन कोशी गाउँपालिकाले आग्रह गरेको छ ।

जग्गा उपलब्ध भएमा तत्काल बजार व्यवस्थित गर्न काम अगाडि बढाइने कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले बताए । सर्वसाधारणसँगै आफूहरूलाई पैदल आउन समेत समस्या हुने गरेकाले तत्काल बजार व्यवस्थित गर्न जग्गा मागिएको उनले बताए । मङ्गलबार र शुक्रबार लाग्ने हटियाको दिन बाहेक पनि लौकही बजारमा आवतजावत गर्न तथा सवारीसाधन चलाउन समस्या हुने गरेको छ । लौकही बजार व्यवस्थित नहुँदा कतिपयले अकालमा ज्यान गुमाउनुपरेको बताउँदै अध्यक्ष अन्सारीले व्यवस्थित भएमा दुर्घटना न्यूनीकरण हुनुका साथै आवतजावत सहज हुने बताए ।