दमक/ कपडाको फिक्का निलो रङको पाइण्ट र कालो रङको ज्याकेट लगाएका हेर्दा करिब २१–२२ वर्षका जस्ता देखिने युवा विदेश जाँदा ठगिए भन्दै न्यायको खोजीमा भौंतारिइरहेका छन् । मासिक राम्रै कमाइ हुने आशामा माल्दिभ्स जाने तयारी गर्दै गर्दा उनी ठगिएका हुन् । उनले पटक–पटक गरेर ऐजण्टलाई ३ लाख रुपैयाँ दिए र तर त्यसको बदलामा न उनी माल्दिभ्स जान पाए, न त अन्य कुनै देश । उनले पाए त केवल नक्कली भिसा र टिकट ।

झापा गौरादह–२ का सवनलाल ताजपुरियाले झण्डै एक वर्षअघि पैसा कमाउन विदेश जाने योजना बनाएर म्यानपावर धाएका थिए । गौरादहबाट विर्तामोडका विभिन्न म्यानपावर कम्पनीहरूमा धाउने क्रममा भद्रपुर–७ मेघा टोलका सपन भनिने खकन सरकार नाम गरेका व्यक्तिले ताजपुरियासँग माल्दिभ्स लैजाने भनेर पटक–पटक गरी ३ लाख रुपैयाँ लिए । ताजपुरियालाई सिङ्गापुर हुँदै माल्दिभ्स लगिने भनेर काठमाडौं बोलाइयो ।

गत सालको शिवरात्री पर्वको अघिल्लो दिन काठमाडौं पुगेपछि दलालले होटलमा राखे । शिवरात्रीको दिन उडान हुने भनियो । हातमा भिसा र जहाज टिकटसमेत भएपछि ताजपुरियाले माल्दिभ्स पुगेर पैसा कमाउने ठूलो सपना देख्नु स्वभाविक थियो ।

तर मध्यरातमा एक्कासि दलालको गिरोहका एक जना सदस्यले नाम नबताई आफू तिनै सरकारको साथी भएको र भोलि एयरपोर्ट नजानू, भिसा र टिकट अलि मिलेको छैन, एक–दुई दिनमा हामी मिलाएर फोन गर्छाैैं भनेपछि छाँगाबाट खसे झैं भयो ताजपुरियालाई । रातभर निन्द्रा परेन । परोस् पनि कसरी साहुसँग सयकडा ४–५ रुपैयाँका दरले ब्याज दिने गरी ३ लाख रुपैयाँ ऋण काढेको पैसा बुझाइएको थियो दलाललाई । भोलिपल्टदेखि उनले आफूलाई काठमाडौंसम्म लैजाने भद्रपुरका ती दलाल सरकार थरका व्यक्तिलाई फोन गरे । तर पहिलाको जस्तै सहजरूपमा फोन उठेन ।

बारम्बारको सम्पर्कपछि बल्ल–तल्ल भेट त भयो तर त्यो भेटमा ताजपुरियासँग रहेको मोबाइल नै नियन्त्रणमा लिई खोसेर सिम कार्ड ड्यामेज गरियो । लगभग एक घण्टा दलालहरूको कब्जामा परेको उनले बताए । उनलाई एउटा होटलको कोठामा छोडेर ती दलाल सबै भागे ।

ताजपुरिया दिनदिनै न्यायका लागि प्रहरी गुहार्दै कहिले टेकु त कहिले महाराजगञ्ज पुगेको बताउँछन् । प्रहरीले झापाको मान्छे हुनुहुँदो रहेछ, उतै गएर थप प्रक्रिया चाल्नू भनेपछि विदेशको सपनालाई त्यागेर उनी झापा फर्किए । झापा आएपछि पीडित ताजपुरियालाई साहुको ऋण फिर्ता गर्ने चर्को दबाव आयो । पैसा खाने दलाल गायब भएकाले साहुलाई थुम्थुमाउँदै दलालबाट पैसा फिर्ता पाउने आशामा कहिले दलालको घर त कहिले उनका साथीको घर अनि कहिले जिल्ला प्रशासन कार्यालय, कहिले प्रहरी कार्यालय हुँदै श्रम तथा रोजगार कार्यालय विराटनगरसम्म पुगेको उनले दुःखेसो पोखे ।

त्यहाँ ताजपुरियाले कार्यालयका प्रमुख प्रेम सञ्जेलको राम्रो साथ पाएको सुनाए । कार्यालयले उनको उजुरीमाथि सुनुवाइ गर्दै वैदेशिक रोजगारका सिलसिलामा ठगी भएको एकिन गरेर दलाल सरकारलाई पक्राउ गर्न प्रहरी कार्यालयहरूमा पत्राचार ग¥यो । यो कामले ठूलो आशा जागेको उनले सुनाए । लामो समयको प्रयासमा ठगी गर्ने दलाल ती सरकारलाई धेरै कसरतपछि विराटनगरमा पक्राउ गरियो । प्रहरीले एक रात राखेर श्रम तथा रोजगार कार्यालय विराटनगरमा बुझायो । कार्यालयमा दलाल सरकारलाई उकास्न उनका सहयोगी टेकनाथ ढकालका छोरा केशव ढकाल पुगे ।

झापाको शिवसताक्षी नगरपालिका वडा नं. १० घर भएका आफूलाई बिर्तामोड हरियाली अभियान नामक संस्थाको सचिव बताउने ३० वर्षीय केशव ढकाल ती दलाल सरकार थरका व्यक्तिको सहयोगी साथी बनेर त्यहाँ आएका रहेछन् । श्रम तथा रोजगार कार्यालय विराटनगरमा पीडित ताजपुरिया, पीडक खकन सरकारका बीचमा दुवै पक्षबीच प्रमुख सञ्जेलकै उपस्थितिमा छलफल भई ठगी गर्ने सरकारले पीडित ताजपुरियासँग लिएको ३ लाख रुपैयाँ ७ दिनभित्र तिर्नुपर्ने निष्कर्ष निकालियो । सो रकम ठगी गर्ने सरकारले नतिरी भागे वा बदनियत गरे ढकालले तिर्ने र सम्पूर्ण जिम्मेवारी लिनेमा मञ्जुर भई ढकालले सहीछाप गरेर ठगी गर्ने सरकारलाई ढकालले जिम्मा लिएका थिए ।

१८ कात्तिक २०७६ मा त्यस्तो सहमति लिएलगत्तै श्रम तथा रोजगार कार्यालय र पीडितलाई समेत चुनौती दिँदै ढकालले उच्च अदालतमा रिट दायर गरेर शक्तिको पहुँच देखाए । अदालतबाट उनलाई पक्राउ गर्नुपर्ने कारण माग भयो । पीडित ताजपुरियाले साहुको ऋणको बोझले आफ्नो पैसा उकास्न लड्नु पर्ने कानूनी लडाइँ लड्ने थप पैसा जुटाउन सक्ने अवस्थामा हुने कुरै भएन । अहिले पैसा खाइदिने खकन सरकारलाई ढकालले जिम्मा लिएर गायब गरिदिए । ‘ढकालले अदालतमा पहुँच देखाएपछि गरिबका लागि न्याय पाउने ठाउँ पनि छ र ? घरबारी धितो राखेर साहुबाट लिएको ऋणले पिरोलेको छ’ उनले भने, ‘अब म न्यायका लागि कहाँ जाऊँ, ३ लाख डुबेको पैसा फिर्ता लिन अझै कति लाख ऋण खोजौं ?’ गहभरि आँशु पार्दै उनले भने, ‘मलाई न्याय दिनुस् मेरो घरबारी जोगाइदिनुस् ।’