विराटनगर / बलत्कार आरोपमा मोरङको पथरीशनिश्चरे नगरपालिका–७ बाट एक जना युवा पक्राउ परेका छन् । विभिन्न खाले धम्की दिँदै डर देखाएर पटक–पटक बलात्कार गरेको आरोपमा २५ वर्षीय रविन आचार्य पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले एक विवाहित युवतीले किटानी जाहेरी दिएपछि आचार्यलाई पक्राउ गरिएको बताए । प्रारम्भिक चरणको अनुसन्धानबाट पनि बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ । पछिल्लो पटक चार दिन अघि बलात्कार गरेको जाहेरीमा उल्लेख रहेको गिरीले बताए ।
प्रहरीका अनुसार फेसबुकमार्फत डर देखाउँदै धम्की दिएर युवाले युवतीलाई ‘ब्ल्याकमेल’ गर्ने गरेको प्रमाणहरु फेला फेला परेका छन् । डीएसपी गिरीका अनुसार आफूसँग रहेको नाङ्गो फोटो सामाजिक सञ्जालमा भाइरल बनाइदिने र यदि नगर्नु हो भने मैले भनेको मान्नु पर्छ भनेर ‘ब्ल्याकमेल’ गरेपछि शरण पर्न गएकी युवतीलाई आचार्यले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बारम्बार घटना दोहारिन थालेपछि युवतीले यो कुरा श्रीमानलाई सुनाएर प्रहरीमा जाहेरी दिएकी हुन् ।
पक्राउ परेका युवाले पनि घटना स्वीकार गरेका छन् । प्रहरीका अनुसार युवतीलाई आफ्नो फेसबुक म्यासेन्जरमा विभिन्न हिसाबले ‘ब्ल्याकमेल’ गर्दै नाङ्गा फोटाहरु पठाउन प्रस्ताव गर्दै दबाब दिएको पनि खुलेको छ । युवाले बलात्कारका लागि ‘ब्ल्याकमेल’ गरेका धेरै प्रमाण प्रहरीसँग सुरक्षित रहेको डीएसपी गिरीले बताए । पक्राउ परेका आचार्य विरुद्ध जवरजस्ती करणी मुद्दा चलाउन अनुसन्धानका लागि आइतबार म्याद थप गरिएको प्रहरीले जनाएको छ ।