बिर्तामोड /  सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले आइतबारदेखि यात्रु बोक्ने सार्वजनिक सवारी साधनलाई टाइम कार्ड लागू गर्ने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख होमप्रकाश अधिकारीले सरोकारवाला सबै पक्षको सहमतिमा टाइम कार्ड लागू गर्न लागिएको जानकारी दिएका छन् ।
उनका अनुसार यातायात व्यवसायी तथा मजदुर पनि टाइम कार्ड लागू गर्न सहमत भएका छन् । उनले भने, ‘उहाँहरुले नै उक्त निर्णयको माइन्युट गर्नुभएको छ, अब यो नियम कडाईका साथ लागु हुन्छ ।’
अधिकारीका अनुसार टाइम कार्ड झापा जिल्लाभरका लागि हुनेछ । अब झापाको ५५ किलोमिटर दुरी पार गर्न १ घण्टा २५ मिनेट लाग्ने भएको छ । पूर्वीद्वार काँकरभिट्टाबाट छुटेको यात्रुवाहक सवारी साधनले विर्तामोडसम्म आइपुग्नका लागि ३० मिनेट तथा पश्चिम सिमाना तारावारी पुग्न न्यूनतम ५५ मिनेट लगाउनु पर्नेछ । काँकडभिट्टा, बिर्तामोड र दमकको तारावारी गरेर तीन स्थानमा ट्राफिकको चेकिङ रहने अधिकारीले बताए । अधिकारीले तोकिएको समयभन्दा छिटो गन्तव्यमा पुगे जरिवानालगायतका कारवाही गर्ने जानकारी दिए ।
टाइम कार्ड लागू गरिएसँगै यात्रु तानातानका लागि तीव्र गतिमा हुइँकिने सवारी आफैं नियन्त्रित हुने अधिकारीको भनाइ छ । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि ¥याडरगनको प्रयोग, मादक पदार्थ सेवन गरेर सवारी चलाउन पूर्णरुपमा रोक, सवारी चालक अनुमति पत्र नहुनेलाई सवारी सञ्चालनमा पूर्ण रुपमा रोक लगाए पनि त्यसले मात्र पर्याप्त नभएपछि सवारी दुर्घटनाका लागि टाइम कार्ड लागू गर्न लागिएको हो ।
ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार ठूला सवारी साधनका अगाडिपट्टि क्यामेरा जडानका लागि यातायात व्यवसायीसंग कुरा गरिसकिएको छ । त्यो पनि चाँडै लागू गरिने ट्राफिक प्रहरी प्रमुख अधिकारीले बताए । दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरीले प्रविधि प्रयोगलाई मुख्य प्राथमिकता दिएको बताएको छ ।