धनकुटा / धरान–धनकुटा लोकमार्गको सिम्सुवा सडक– खण्डमा शुक्रबार साँझ गुडिरहेको बसमा अचानक आगलागी हुँदा ६ जना यात्रु गम्भीर घाइते भएका छन् ।
धनकुटाको साँगुरीगढी गाउँपालिका– ६ सिम्सुवामा धनकुटाबाट विराटनगरतर्फ गइरहेको ना.५ ख ८००३ नम्बरको यात्रुवाहक बसमा आगलागी हुँदा सवार ६ जना विद्यार्थी घाइते बनेका हुन् । प्रहरीका अनुसार घटना साँझ साढे ६ बजे भएको हो ।
घाइते हुनेमा सुनसरीको इनरुवा नगरपालिका–५ की २२ वर्षीया संविधान न्यौपाने, इनरुवा–२ की सजना अन्सारी, इनरुवा–३ की २६ वर्षीया सुशीला पौडेल, झापा दमक–९ की २३ वर्षीया वर्षा न्यौपाने, सप्तरी खड्ग–३ का २३ वर्षीय आइडन थारू र मोरङ विराटनगर–२ का राहुल ठाकुर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
आगलागीको कारण हालसम्म खुल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका ट्राफिक प्रहरी दीपक खड्काले ब्लाष्टलाई जानकारी दिए । यात्रुवाहक बस विराटनगरस्थित इडेनवर्ग कलेजका विद्यार्थी लिएर शैक्षिक भ्रमणको क्रममा धनकुटा आएको र फर्कने क्रममा आगलागी भएको थियो ।