विराटनगर/ विराटनगरको सिङ्घीया खोलामा जलाउन पु¥याएको एक महिलाको शव मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

विराटनगर–८ बलुवाइकी २८ वर्षीया प्रेमदेवी साहको शव जलाउन लगिएको घाटबाट बिहीबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
साहको मृत्यु शङ्कास्पद देखिएपछि माइती पक्षले दिएको उजुरीको आधारमा प्रहरीले शव नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएको शव विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा पोष्टमार्टमको लागि राखिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए ।

‘घटना शङ्कास्पद भएको उजुरी परेपछि जलाउन लागिएको शव नियन्त्रणमा लिइएको हो’ उनले भने, ‘पोष्टमार्टमको लागि शव कोशी अञ्चल अस्पतालमा राखिएको छ ।’ पोष्टमार्टम रिपोर्ट आउनुअघि घटनाबारे केही भन्न नमिल्ने प्रहरीले जनाएको छ । सोधपुछको लागि प्रहरीले प्रेमदेवीका श्रीमान् गोविन्द साहलाई नियन्त्रणमा लिएको छ ।

घाँटीमा डाम देखिएपछि साहको मृत्यु शङ्कास्पद लागेर माइतीपक्षले प्रहरीमा खबर गरेका थिए । प्रेमदेवीको मृत्यु भएको भनेर बिहान साढे ५ बजे उनका माइती पक्षलाई खबर पुगेको थियो । दाजु राजु साहले आएर बहिनीको घाँटीमा हेर्दा आलो डाम देखेपछि घटना शङ्कास्पद लागेर प्रहरीलाई खबर गरेको उनले बताए । उनका अनुसार बहिनी केही समयदेखि बिरामी थिइन् । ‘मानसिक रोगी भएका कारण सुनसरीको वराहक्षेत्र नगरपालिका–४ स्थित माइतीमा लगेर उपचार गराएर घर पठाइएको थियो’ राजुले भने, ‘एक्कासि मृत्यु भयो भन्ने खबर आयो ।’

शव नियन्त्रणमा लिन वडा प्रहरी कार्यालय हाटखोलाबाट सइ मनोज अधिकारी र जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर रामबहादुर ढकाल नेतृत्वको अलग–अलग टोली घाटमा पुगेको थियो । एसपी अधिकारीले घटनास्थल मुचुल्का तयार पारेर शव नियन्त्रणमा लिएपछि पोष्टमार्टमका लागि अस्पतालमा ल्याइएको बताए । ‘घटना अलि शङ्कास्पद देखिएपछि शव नियन्त्रणमा लिइएको हो’ उनले भने, ‘सबै कोणबाट अनुसन्धान गर्ने काम भइरहेको छ ।’ गोविन्दसँग उनको १२ वर्षअघि मागी विवाह भएको हो । उनीहरूका १० र ८ वर्षका दुई छोरा छन् ।

गोविन्दले भने श्रीमती केही समयदेखि मानसिक बिरामी रहेको बताए । ‘चार–पाँच महिनाअघि सलले घाँटी कसेर आत्महत्याको प्रयास पनि गरेकी थिइन्’ उनले भने, ‘अहिले घाँटीमा देखिएको भनिएको त्यति बेलाकै डाम हो ।’ मानसिक बिरामीका कारण छट्पट गरेपछि आफूले बिहान ३ बजेसम्म रुँघेर बसेको र निन्द्रा लागेर झकाएपछि श्रीमतीको मृत्यु भएको उनले बताए । गोविन्दले बिहान ५ बजे उठेर हेर्दा सुतेको खाटबाट तल झरेको र मृत्यु भएको अवस्थामा आफूले श्रीमतीलाई पाएको बताए । माइतीपक्षले भने सलले घाँटी कसेको भए पनि त्यतिबेला कुनै डाम नभएको बताएका छन् । प्रहरीले पनि उक्त डाम पुरानो नभई नयाँ नै भएको जनाएको छ ।