इटहरी/ पछिल्लो समय सुन व्यवसाय ठगीको राम्रो माध्यम बन्ने गरेको पाइएको छ । व्यवसायको माध्यमबाट ग्राहकलाई ठग्ने, धितोमा सुन राखी चर्को ब्याजदर असुल्ने र ब्याज दिने लालचमा सर्वसाधारणबाट रकम असुली सञ्चालक फरार हुने क्रम बढ्दै गएको छ । इटहरी क्षेत्रमा मात्र सर्वसाधारणबाट करोडौं रुपैयाँ सुन पसलेहरूले ठगी गरेका छन् ।

सुन पसलबाट अवैधरूपमा वित्तीय कारोबार गरी सर्वसाधारणको लाखौं ठगी गरेको आरोपमा इलाका प्रहरी कार्यालय इटहरीले श्री लक्ष्मी स्टोर्स (ज्वेलर्स) का सञ्चालक वीरेन्द्र विश्वकर्मालाई पक्राउ गरेको छ । बैङ्किङ कारोबारको अनुमति नलिई श्री लक्ष्मी स्टोर्स (ज्वेलर्स) को नाममा पासबुक छपाएर वित्तीय कारोबार गरेर फरार रहेका विश्वकर्मालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो ।

सर्वसाधारणलाई बढी ब्याज दिने भन्दै प्रलोभनमा पारेर ठगी गरेको उजुरी आएपछि विश्वकर्मालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए । प्रहरीमा हालसम्म ४५ लाख ४ हजार बराबरको ठगी गरेको जाहेरी परेको छ । ‘लामो समयदेखि सर्वसाधारणको रकम लिएर काठमाडौंमा बस्दै आएका विश्वकर्मालाई इटहरी ल्याई मुद्दा चलाएका छौं’ –डिएसपी भण्डारीले भने ।

उनीविरुद्ध विभिन्न १० जनाले ठगी गरेको उजुरी दिएका थिए । उजुरी दिनेहरूमा सालिकराम कट्वालले २ लाख ३७ हजार, तारा कट्वालले ५ लाख ५० हजार, कमला दाहालले १० लाख, तुलसीप्रसाद घिमिरेले ३ लाख र रमला लुइँटेलले ३ लाख ९९ हजार रुपैयाँ आफूहरूबाट विश्वकर्माले लगेको जनाएका छन् । यस्तै गोपाल राईको २ लाख, रञ्जना निरौलाको ५ लाख, यशोदा दाहालको ६ लाख ५० हजार, सीतादेवी पोख्रेलको ५ लाख र हीरा ठाकुरको १ लाख ६८ हजार ठगेको उजुरीमा उल्लेख गरेका छन् ।

इटहरीमा नै केही दिनअघि मात्र बैङ्किङ कारोबारको अनुमति नलिई सुन पसलमार्फत् पासबुक बनाई रकम सङ्कलन गरेको आरोपमा केही दिनअघि इटहरी कान्तिपुर गहना भण्डारका सञ्चालकद्वय पक्राउ परे । सुवास श्रेष्ठ र दोर्ण श्रेष्ठलाई प्रहरीले पक्राउ ग¥यो । नेपाल राष्ट्र बैङ्कबाट बैङ्किङ कारोबारको अनुमति नलिएको पाइएपछि उनीहरूलाई पक्राउ गरेको इप्रका इटहरीले जनाएको छ । तर अहिले पनि अवैध कारोबार भने भइरहेको पाइन्छ ।

महँगोे ब्याज दिने प्रलोभनमा बचतकर्ताले राखेको रकम पाउन सर्वसाधारणलाई सकस परेको छ । सुन पसलमा राखेको अधिकांश सर्वसाधारणको पैसा फिर्ता गर्न नसक्दा पीडितहरू थप पीडित बन्दै गएका छन् । कान्तिपुर गहना भण्डारबाट दुई लाख रकम लिन बाँकी रहेको बताउँदै एक महिलाले भनिन्, ‘हामीलाई बारम्बार झुलाउँदा घरबार नै बिग्रने डर भयो । तर अहिलेसम्म पैसा पाएको छैन ।’

तरहरा क्षेत्रमा पनि सुन पसलेहरू धमाधम हात उठाउन थालेका छन् । सर्वसाधारणको १५ करोडभन्दा बढी रकम डुबाएकोले दीपक गजमेर अहिले झुम्का कारागार चलान भएका छन् । त्यस्तै गजमेर ज्वेलर्सका सञ्चालक अर्का दीपक गजमेर अहिले फरार भएका छन् । एकपछि अर्को गर्दै सर्वसाधारणको लाखौं रकम लिएर सुन पसलेहरू फरार हुन थालेका हुन् । प्रहरीले भने अवैध कारोबारीहरू उपरनिगरानी बढाएको जनाएको छ ।

बाउन्स चेकको उजुरी दिने बढे
पछिल्लो समय चेकबाट ठगीधन्दा गर्नेहरू बढेका छन् । चेकमार्फत् लाखौं रुपैयाँ ठगी गरेको भन्दै इलाका प्रहरी कार्यालय इटहरीमा उजुरीको चाङ लाग्न थालेको हो । खातामा पैसा नभएको अवस्थामा चेक काट्दै सर्वसाधारण ठग्ने गरेका छन् । पछिल्लो समयमा चेक बाउन्सको घटना इटहरी आसपासमा अत्यधिक भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । धेरैजसो सर्वसाधारण चेक नसाटिएको भन्दै इलाका प्रहरी कार्यालयमा आउने गरेको प्रहरी बताउँछ ।

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी भण्डारीले सर्वसाधारणहरू कारोबारमा ठगी गरेको भन्दै उजुरी लिएर उल्लेखनीय मात्रामा आउने बताए । दैनिकजसो उजुरी दिन सर्वसाधारणहरू प्रहरी कार्यालय आउने गरेको उनको भनाइ थियो । बाउन्सचेकका कारण ठगीमा परेपछि न्याय माग्न प्रहरी कार्यालयमा धेरै आउने गरेका छन् । पैसा नभएको खाताको चेक काट्नेलाई बैङ्किङ कसूरअन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ ।