भद्रपुर / पछिल्लो समय चौपाया तस्करहरुले बालबालिका प्रयोग गरी चौपाया भारत तर्फ लैजाने गरेको पाइएको छ । बालबालिकाले भारत तर्फ लैजादै गरेको ४२ ओटा चौपाया वडा प्रहरी कार्यालय भद्रपुरबाट सादा पोसाकमा खटिएको प्रहरीले वुधबार दिउँसो नियन्त्रणमा लिएको छ । । प्रहरीले भद्रपुर ४ स्थित नेपाल– भारतको १०४ नम्बर पिलरको दशगजा क्षेत्रबाट चौपाया नियन्त्रणमा लिएको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए । प्रहरीले ३२ ओटा गाई, ९ बाछा र एक गोरु नियन्त्रणमा लिएको डिएसपी श्रेष्ठले जानकारी दिए । चौपायालाइ आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालय बुझाइएको उनले जनाए ।
चौपाया तस्करले पछिल्लो समय बालबालिका प्रयोग गराइ तस्करी हुनेगरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ठूलो मात्रामा चौपाया भारत तर्फ जान रोक लगाएको जिल्लाका एसपी कृष्णप्रसाद कोइरालाले बताए । नेपालका पश्चिम क्षेत्र हुदै भारत जान झापा ल्याइएका चौपायाको प्रवेशद्धार नै बन्द गरिनु पर्ने उनको भनाइ छ ।