इटहरी/ इटहरी–१० स्थित गोकुलम रिसोर्ट पछाडि एक महिला बलात्कारको शिकार बनेकी छन् ।
काठमाडौंबाट श्रीमान् खोज्दै इटहरी आएकी एक महिला बलात्कारको शिकारमा परेकी हुन् । एक सातादेखि पूर्वका विभिन्न स्थानमा श्रीमान्को खोजीमा भौंतारिएकी ३२ वर्षीया महिलालाई दिउँसो सुनसरी–मोरङको सीमामा पर्ने बूढीखोलामा इटहरीका दुई जनाले बलात्कार गरेका हुन् ।
इटहरी–६ का सिटीसफारी चालक नरेश थारु र उनका साथी इटहरी–९ का सन्दीप चौधरीले जबरजस्ती सिटीमा चढाएर बूढीखोला नजिक रहेको गोकुलम पार्क पछाडि एकान्त स्थानमा जबरजस्ती गरेको अवस्थामा स्थानीयले फेला पारेका थिए । स्थानीयको सहयोगमा घटनास्थलबाटै दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार पकलीमा रहेकी दिदीको शरणमा रहेकी ती महिला आइतबार दिउँसो श्रीमान् खोज्न इटहरी आएकी थिइन् । सोही क्रममा सिटीमा चढेर विराटनगर लाइन हिँडेकी उनलाई सिटी चालक नरेशले फोन गरेर सन्दीपलाई पनि बोलाएर जबरजस्ती बूढीखोलातर्फ लगेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।