नेपाललाई कृषि प्रधान देश भनेर गौरव गरिन्छ । राजनीतिक दलका नेताहरू पनि हरेकजसो कार्यक्रममा कृषिको कुरा गर्छन् । तर, देशमा उत्पादन भइरहेका धेरै कृषिजन्य वस्तुले बजार पाउन सकेका छैनन् । यतिबेला बजारमा सुन्तलाको मौसम छ । बजारमा जताततै सुन्तला पाइए पनि यसको मूल्यमा एकरूपता पाइँदैन। कतिपय ठाउँमा उत्पादन भएका सुन्तला बजार पुग्न सकेका छैनन् । त्यसका लागि सरकारको पर्याप्त सहयोग आवश्यक छ । प्रदेश नं.१मा पनि सुन्तला प्रशस्त उत्पादन हुने गरेको छ । प्रदेशका धनकुटा, भोजपुर, पाँचथर, खोटाङ, तेह्रथुम, इलामलगायतका जिल्लामा सुन्तला राम्रो उत्पादन हुन्छ । आर्थिक वर्ष २०७५÷०७६मा धरान कृषि उपज बजारस्थलमा ७ हजार ५ सय १९ मेट्रिक टन सुन्तला बिक्रीका लागि आएको तथ्याङ्क छ । धरानको कृषिउपज बजारस्थलबाट मात्र वार्षिक करिब एक अर्ब रुपैयाँको सुन्तला बिक्री हुने गरेको छ । त्यसबाहेक झापाको विर्तामोडमा पनि पूर्वी पहाडमा उत्पादन हुने सुन्तला सङ्कलन हुन्छ । नेपालमा धनकुटा, तनहुँ, स्याङ्जा, धादिङ र काभ्रे सुन्तला उत्पादन हुने मुख्य जिल्लामा पर्छन् । नेपालमा उत्पादन भएका सुन्तला रसिला, गुलिया र पातलो बोक्रा भएका कारण उपभोक्ताले मन पराउँछन् । नेपालका सुन्तला छिमेकी देशका उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्षम भए पनि सरकारले त्यसतर्फ ध्यान दिन नसक्दा नेपालले फाइदा लिन सकेको छैन ।

यसलाई ‘ब्राण्डिङ’ गरेर अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सकिने प्रशस्त सम्भावना रहे पनि सरकारले त्यतातिर ध्यान दिएको पाइँदैन । नेपालमा उत्पादन भएका सुन्तला धेरै जसो नेपालमै खपत हुने गरेका छन् भने थोरै मात्रामा भारत र बङ्लादेशमा पनि जाने गरेका छन् । तर, यसलाई अन्य देशमा पुर्याएर विदेशी मुद्रा नेपाल भिœयाउन सम्भव छ । शुरुमा दक्षिण एसियाली बजारमै जाने हो भने पनि देशले राम्रो आम्दानी गर्न सक्छ । त्यसका लागि सरकारले यहाँका उत्पादनको गुणस्तर प्रमाणित गरेर बाह्य बजारमा पहुँच पु¥याउन नीतिगत रूपमा पहल गर्नु आवश्यक छ ।

पूर्वी पहाडका कृषकहरुले उत्पादन गरेका सुन्तला अहिले बजारसम्म पुर्याउनै समस्या छ । कृषकहरूले उचित दाम पाउने र अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने हो भने धेरैले यसलाई व्यवसाय बनाउने छन् । सरकारको पर्याप्त सहयोग नपाउँदा सिजनमा उत्पादन हुने सुन्तलाले राम्रो मूल्य पाउन सकेका छैनन् । एकैचोटी उत्पादन हुने सुन्तलाको सिजनमा व्यापारीहरूले सस्तो दाम हाल्ने र महँगोमा बेच्ने गरेका छन् । सुन्तलालाई भण्डारण गरेर बेसिजनमा पनि बिक्री गर्न योग्य बनाउन सके कृषकलाई फाइदा पुग्न सक्छ । त्यसका लागि सरकारले कृषकको पहुँचमा भण्डारणको व्यवस्था गर्न सक्नु पर्छ । सुन्तलाको खेती, उत्पादन, भन्डारणदेखि ब्राण्डिङ गरेर अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन सरकारले नीति बनाएर लाग्नुपर्छ । त्यसो गर्न सके सुन्तला नेपालका लागि विदेशी मुद्रा आर्जन गर्ने नयाँ उत्पादन बन्न सक्नेछ । तर, अहिलेको अवस्थामा कृषिका लागि सरकारले छुट्याएको बजेट समेत बिचौलियाहरूले दुरुपयोग गर्ने गरेका छन् । वास्तविक कृषकले सरकारको सहयोग पाउन मुस्किल छ । विचौलियाले फर्जी कागजका भरमा अनुदान र सहयोग पाउने गरेका छन् । यस्ता प्रथाको अन्त्य नभएसम्म सुन्तला होस् या कृषिका कुनै पनि उत्पादनबाट कृषकले राहत पाउन सक्दैनन् । कृषकलाई सक्षम बनाउन सके देश पनि आत्मनिर्भर हुन्छ भन्ने तर्फ स्थानीय, प्रदेश र ङ्ंघीय तीनै तहका सरकारको ध्यान जानु आवश्यक छ ।