धनकुटा/ ४५ औं साधारण सभापछि धनकुटा उद्योग वाणिज्य संघमा लागेको ताला १३ दिन बित्दा पनि खुल्न सकेको छैन । तालाबन्दी कै कारण नयाँ नेतृत्व छान्न मंसिर २८ गते तोकिएको मतदान समेत स्थगित भएको थियो ।

धनकुटा ६ स्थित सल्लेरीमा रहेको धनकुटा उद्योग वाणिज्य संघको मुलगेटमा अहिले दोहोरो ताला झुण्डिएको छ । बाम पक्षधर असन्तुष्ट उधागी व्यवसायीले सदस्यता पाउनु पर्ने माग गर्दै संघको उद्घाटनसत्र र बन्दसत्र सम्पन्न भएको भोलीपल्ट अर्थात मंसिर २३ गते निर्वाचन समितिको समेत रहेको संघको कार्यालयमा तालाबन्दी गरिएको थियो ।

लोकतान्त्रिक पक्षधरले साधारणसभा समेत सम्पन्न भई विधिसम्मत संघको निर्वाचन प्रक्रिया अगाडि बढिसकेकाले निर्वाचन प्रक्रियालाई तत्काल सूचारु गर्न माग गर्दै मंसिर ३० गते तालाबन्दी गरेको थियो । अहिले उद्योग वाणिज्य संघको कार्यालयमा दोहोरो तालाबन्दी भएको छ ।

अहिले पनि दुवै पक्षधर व्यवासायी बीच पटक÷पटक सर्वदलीय बैठक बसे पनि सहमति हुन सकेको छैन। तालाबन्दीकै विषयलाई लिएर प्रमुख जिल्ला अधिकारी डा. कृष्ण बहादुर घिमिरेले पटक÷पटक राखेको सर्वपक्षीय बैठक निष्कर्ष बिहीन अवस्थामा टुंगिएको थियो ।

प्रजिअ डा. घिमिरेले सर्वपक्षीय बैठकमा लोकतान्त्रिक र वाम पक्षधर व्यवासायीबीच कुरा नमिल्दा सहमति हुन नसकेको बताए । ताला खोल्ने विषय प्रशासनको क्षेत्राधिकार बाहिरको कुरा हो, उनले भने, मुढभेडको विषयमा प्रशासन मुछिनु राम्रो होइन ।

क्षेत्राधिकार भन्दा बाहिरको यो विषय अदालतबाट टुंग्याउनु पर्ने उनले बताए । उद्योग वाणिज्य संघ निर्वाचन समितिले पनि तालाबन्दी नखुलेकै कारण विज्ञप्ति प्रकाशन गरेर मतदान स्थगित गरेको थियो । ताला खुल्नासाथ नयाँ निर्वाचनको कार्य तालिका प्रकाशित गर्ने निर्वाचन समितिका सदस्य खगेन्द्र प्रसाद घिमिरेले बताएका छन् ।

यता धनकुटा उद्योगा वणिज्य संघका तत्कालीन अध्यक्ष उमेश घिमिरेले ताला खोलेर नयाँ कार्यसमिति चयन गर्न व्यवसायी बीच सर्वपक्षीय छलफल चलिरहेको बताए । उनले ३÷४ दिन सहमति नभए व्यवसायीको रोहवरमा तालाबन्दी खोल्ने समेत बताए । प्रहरीले भने ताला लागे देखी नियमित रुपमा उधोग वाणिज्य संघको कार्यलयमा सुरक्षा दिईरहेको छ ।

सरकारी कार्यालयबारे प्रजिअ नै बेखबर :
उद्योग वाणिज्य संघको भवनमा रहेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सचिवालयद्वारा संचालित जिल्ला संयोजन तथा अनुगमन समिति धनकुटाको कार्यालय रहेको छ । उद्योग वाणिज्य संघमा लागेको तालाबन्दीले यो कार्यालयको कक्ष समेत बन्द छ । प्रजिअको अध्यक्षतामा सो कार्यालय रहेपनि प्रजिअ भने कार्यालयको विषयमा लिखित जानकारी समेत नभएको बताए । म धनकुटा आएको चार महिना भइसक्यो, सो विषयमा आफुलाई जानकारी छैन प्रजिअ घिमिरेले भने ।

युवा स्वरोजगारको बजेट, कर्मचारी र कार्यक्रम छैन, उनले भने, संघको भवनमा बोर्ड कसरी, किन राखिएको माथिल्लो निकायमा बुझौंला । समृद्धि परियोजनाको कार्यालय पनि बन्द अवस्थामा छ । सो भवनको दोस्रो तलामा उद्योग वाणिज्य मन्त्रालय र विदेशी दातृ निकायको सहयोगको संयुक्त लगानीमा तथा साझेदारीमा रहेको समृद्धि परियोजनाको कार्यालय पनि रहेको छ ।

सो कार्यालय पनि तालाबन्दी लागे देखि नै बन्द छ । कार्यालय बन्द रहेका कारण फिल्डमा काम गरिरहेका समृद्धि परियोजनाका धनकुटा संयोजक बलबहादुर पौडेलले बताए । अफिसियल काम गर्न डकुमेन्ट थुनिएको छ, उनले भने, कृषकलाई अनुदान दिने कार्यक्रम प्रभावित बनेको छ ।