विराटनगर/ प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मडियाले नकारात्मक वस्तुको मात्रै खोजी गर्ने र जबरजस्ती नकारात्मक बनाएर प्रस्तुत गर्ने परिपाटीको अन्त्य गर्न नेपाली सञ्चार क्षेत्रलाई आग्रह गरेका छन् ।
विराटनगरमा बिहीबार भएको नेपाल फोटो पत्रकार महासङ्घको प्रथम केन्द्रीय महाधिवेशनको उद्घाटन सत्रमा मुख्यमन्त्री राईले नेपाली मिडिया र सामाजिक सञ्जालहरूमा नकारात्मक विषयवस्तुको मात्रै धेरै खोजी गर्ने र प्रस्तुत गर्ने विषयमा होडबाजी चलेको बताए । उनले यसलाई बेलैमा नियन्त्रण गर्न नसके समाजमा भयावहको स्थिति सिर्जना हुने बताए ।
समाजमा भएका नकारात्मक वस्तुको खोजी गर्ने र बाहिर ल्याउने परिपाटीलाई समयसँगै बदल्न आवश्यक रहेको उनको भनाइ थियो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले समाजमा नकारात्मकताको खोजी र खेती गर्ने प्रचलन बढ्दै गएको उनले बताए । राम्रा कुरा बुझेर पनि नबुझेजस्तो गर्ने र कसरी नकारात्मक कुरालाई हाइलाइट गर्ने भन्ने सोच हाबी हुँदै गएको बताए ।
त्यस्तै प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले सकारात्मक आलोचनाले पदमा बसेकाहरूलाई सच्चिन मद्दत पुग्ने भए पनि नकारात्मक कुराहरू मात्रै पस्कने परिपाटीले समाजलाई घाटा हुने बताए । सकारात्मक टिप्पणी र आलोचनाका साथसाथै दूरदराजमा भइरहेका सकारात्मक कुराहरू पनि खोजी गर्न उनले आग्रह गरे । कार्यक्रममा वरिष्ठ पत्रकारद्वय मोहन भण्डारी र हर्ष सुब्बालाई जनही २१ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।