भण्टाबारी/ पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी गाउँपालिका–८ भण्टाबारीको पुल निर्माण नहुँदा सवारीहरूलाई सकस हुने गरेको छ ।

मुख्य सडकखण्ड जोड्ने पुल निर्माण थालेको चारवर्ष बितिसक्दा पनि बन्न नसक्दा सवारीहरूलाई समस्या हुने गरेको हो । ठेक्का अरनिको बाम्ती जेभीले गरेको थियो । ठेकेदार कम्पनीले राजमार्गको पुल निर्माणमा ढिलाइ गरेको बारे पटकपटक समाचार प्रकाशित भए पनि सम्बन्धित निकाय मौन बस्दै आएको छ ।

पुलबाट यात्रा गर्नेक्रममा दिनहुँजसो सवारीसाधन बिग्रँदै आएका छन् भने स्थानीय धुलोले पीडित भएका छन् । पूर्व–श्चिम राजमार्ग अन्तर्गतको पुल ११ वर्षअघि आएको बाढीले बगाएको थियो । त्यस अवधिमा उक्त पुल मर्मत तथा निर्माणको नाममा करोडौं रुपैयाँ खर्च गरिए पनि पुल सञ्चालनमा आएको छैन ।

२०६५ सालमा कोशीको बाढीले उक्त पुल बगाएपछि हाल फलामे बेलीबृज पुलबाट गाडी आवतजावत गर्ने गरेका छन् । सडक विभागले पक्की पुल निर्माण गर्नुपर्ने भएकोले बनाएको उक्त फलामे पुलसमेत म्याद नाघेको कारण जीर्ण बनेको छ । मुख्य राजमार्गमा पर्ने पुल निर्माण हुन नसक्दा हजारौं यात्रुवाहक सवारीसाधन जोखिमपूर्ण यात्रा गर्दै आउनुका साथै स्थानीयवासी धुलोपीडित बनेको स्थानीय मिनतुल मियाँ बताउँछन् ।

ठेक्का पाएको कम्पनी र सडक विभागले पुल स्तरोन्नति र निर्माणकार्यका नाममा करोडौं खर्चिए पनि पानी न छर्दा स्थानीय धुलोबाट हैरान भएको कोशी गाउँपालिका वार्ड नम्बर ८ का अध्यक्ष विन्देश्वर यादवले बताए । ठेकेदारलाई फोन गर्दा सम्पर्क हुन नसक्ने र फोन लागे पनि उठ्दैन ।’ उनले भने– ठेकेदारको मनोमानी बढ्दो छ ।

ठेकेदारको मनोमानीको कारण पुल निर्माणकार्य नसकिएको र पानी पनि न छर्ने गरिएकाले स्थानीय सर्वसाधारण आक्रोशित भएको वार्ड अध्यक्ष यादवको भनाइ छ । नियमितरूपमा पानी नछर्ने गरेकोले होटेल सञ्चालकसँगै सशस्त्र प्रहरीसमेत धुलोबाट प्रभावित भएको सशस्त्र प्रहरी बिओपी भण्टाबारीका इन्स्पेक्टर प्रेमसिंह विष्टको कथन छ । धुलोले ड्युटी गर्न निकै समस्या भएको बताउदै बिष्टले यसबारेमा जानकारी गराउन पटकपटक ठेकेदारसँग सम्पर्क गर्ने प्रयास विफल भएको बताए ।