भोजपुर/ भोजपुरमा भूकम्पबाट क्षति भएका ६५ दशमलव ४४ प्रतिशत भूकम्प पीडितको घर पुनर्निर्माण सम्पन्न भएको छ ।
पछिल्लो समय स्थानीय तह स्तरीय कार्यक्रम सञ्चालन गर्दै वडा स्तरमा रहेका समस्याका विषयमा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षहरूसँग पुनर्निर्माण सम्बन्धी गोष्ठी सञ्चलान गर्न थालेपछि कामले तीव्रता पाएको हो । जिल्लामा पहिलो किस्ता लिएका पाँच हजार १९१ मध्ये हालसम्म तीन हजार ७६२ घरको पुनः निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन इकाई भोजपुरका प्रमुख राजनराज रेड्डीले बताए ।
भूकम्पले क्षति भएका पाँच हजार ४४९ घर मध्ये हालसम्म पाँच हजार १९१ पीडितले पहिलो किस्ता र चार हजार ३८९ जनाले दोस्रो किस्ता लिएका छन् । पाँच हजार ४४९ घर पूर्ण रूपमा क्षति भए पनि पाँच हजार १९१ जनाले मात्र सम्झौता गरेका थिए ।
त्यस्तै जिल्लाभर ४५३ जना प्रबलीकरणका लाभग्राही रहेकोमा अहिले सम्म २६५ जना लाभग्राहीले सम्झौता गरेर पहिलो किस्ता लगेका छन् । कार्यालय प्रमुख रेड्डीका अनुसार पहिलो किस्ता लिन बाँकी रहेको लाभग्राहीका लागि पौष मसान्त सम्मको म्याद थपिएको छ भने दोस्रो र तेस्रो किस्ताको रकम माघ मसान्तसम्म लिनु पर्नेछ ।
६२८ जनाले लाभग्राही सूचीमा नाम दर्ता गरेर पनि पहिलो किस्ता नलिएको कार्यालयले जनाएको छ । षडानन्द नगरपालिकामा एक हजार ५७ लाभग्राही सङ्ख्या रहेकोमा ९९७ ले पहिलो , ८४४ ले दोस्रो र ६३४ जनाले तेस्रो किस्ता लिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । प्रबलीकरणतर्फ ८२ जना लाभग्राही रहेकोमा १६ जनाले पहिलो किस्ता लिएका छन् ।