धरान / धरान उपमहानगरपालिका प्रमुख र वडा नंं ७ को वडाअध्यक्षको लागि मंसिर १४ गते हुने उपनिर्वाचनका लागि १२ सय ५५ सुरक्षाकर्मी परिचालन गरिएको छ ।
मतदान केन्द्र तथा स्थल सुरक्षाका लागि तीन तहमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जानकारी दिए । पहिलो सुरक्षा घेरामा ७ सय ९० जनपथ प्रहरी, दोश्रो घेरामा २ सय ६५ जना सशस्त्र प्रहरी र तेश्रो घेरामा नेपाली सेना परिचालन गरिएको प्रजिअ पौडेलले जानकारी दिए । आवश्यकता अनुसार सेना परिचालन गरिने नेपाली सेनाको पूर्वी पृतनाले जानकारी दिएको छ । बुधबारदेखि मतदान स्थान तथा केन्द्रहरुको सुरक्षाका लागि सुरक्षाकर्मी पुगिसकेका छन् । केही दिन अघि चुनाव विथोल्ने र चन्दा उडाउने समुहअलाई पक्राउ गरे पछि निर्वाचन विथोलिन नदिन धरानको सुरक्षा व्यवस्था कडा पारिएको प्रजिअ पौडेलले जानकारी दिएका छन् ।
निर्वाचनका लागि बुधबार नै ४९५ जना कर्मचारीहरु परिचालन गरिएको मुख्य निर्वाचन कार्यालय धरानका सहायक अधिकृत निधिराम दाहालले जानकारी दिए । ९२ हजार ५५३ मतदाता रहेको धरान उपमहानगरपालिकामा यसपटक ९९ मतकेन्द्र र २८ वटा मतदान स्थल रहेको छ । निर्वाचनको सबै तयारी पुरा भएको कार्यालयले जनाएको छ ।