धरान/ पूर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारले जनतालाई ‘महँगी, कर र भ्रष्टाचार’ मात्रै दिएको आरोप लगाएका छन् ।

नेपाली काङ्ग्रेसको चुनावी सभालाई मङ्गलबार सम्बोधन गर्र्दै सभापति देउवाले जनताले थेग्नै नसक्ने गरी कर बढाएको दाबी गरे । ‘यो सरकारले जनतालाई महँगी दिएको छ, कर थोपरेको छ, भ्रष्टाचार बढाएको छ’–उनले सम्बोधनको क्रममा भने । उनले कालापानीमा ओलीको राष्ट्रवाद लम्पसारवादमा परिणत भएको दोहो¥याएका छन् । ‘माक्र्सवाद लम्पसारवादमा परिणत भएको छ, उहाँ (ओली) को राष्ट्रवादले घुँडा टेकेको छ’ उनले भने, ‘कालापानी र सुस्ता भारतलाई सुम्पिने यो कस्तो राष्ट्रवाद हो ?’

उनले अख्तियारलाई धम्क्याउने, तर्साउने आयोगको रूपमा ओली सरकारले चित्रण गरेको दाबी गरे । उनी अधिकांश समय ओलीको खोक्रो राष्ट्रवादका विरुद्धमा खनिएका थिए । उनले स्वतन्त्र न्यायालयलाई, मानवअधिकार आयोगलाई, संवैधानिक परिषद्लाई कमजोर बनाउन खोजेकाले प्रतिपक्ष काङ्ग्रेसलाई त्यो कदापि मान्य नहुने बताए । प्रजातन्त्रको नाममा षड्यन्त्र गर्ने काम भइरहेकाले प्रजातन्त्र स्थापनार्थ काङ्ग्रेस लागेकोे उनले बताए । उनले धरानमा कम्युनिष्टहरूले परिवर्तन अहिलेसम्म गर्न नसकेकाले एकपटक काङ्ग्रेसलाई भोट दिई जिताउनका लागि आग्रह गरे । उनले काङ्ग्रेसले धरानमा चुनाव जितेर इतिहास बनाउन चाहेको बताए ।

पूर्वअर्थमन्त्रीसमेत रहेका काङ्ग्रेसका नेता रामशरण महतले यो सरकार भ्रष्टाचारको दल–दलमा फसेको बताए । त्यसकारण जनताको अपेक्षा अहिले नेपाली काङ्ग्रेसको पक्षमा रहेको बताए । कम्युनिष्ट मन्त्री तथा नेताहरू व्यक्तिगत रूपमा कमाउनेतिर उन्मुख भएको आरोप लगाए । उनले कम्युनिष्ट हल्ला गर्ने पार्टीमात्रै भएको बताए । प्रम ओलीले आफ्नो संसद् विकास क्षेत्रमा मात्रै विकास गर्न लागेकोप्रति कटाक्ष गर्दै नेता महतले भने, ‘व्यक्तिगत फाइदाको लागि मात्रै विकास गर्ने होइन । जनताको लागि विकास गर्ने हो ।’ अर्का नेता विमलेन्द्र निधिले पनि विकासको गोरेटो नेपाली काङ्ग्रेस सरकारको पालामा भए पनि अहिलेको सरकारले क्रेडिट खाइरहेको आरोप लगाए ।

त्यस्तै युवा नेता गगन थापाले धराने जनता बदलिए मात्र धरानमा विकास हुने भएकाले यसपटकको उपनिर्वाचनमा काङ्ग्रेसका उम्मेदवार तिलक राईलाई मत दिन आग्रह गरे । उनले धरानमा २८ वर्ष शासन गरेको कम्युनिष्टले भोटसँग साटेर खाएको आरोप लगाए । त्यस्तै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री महेश आचार्यले प्रदेश नं. १ को प्रमुखमा धनकुटाका प्रा.डा.गोविन्द सुब्बालाई हटाएर कास्कीका नेतालाई प्रदेश प्रमुखमा नियुक्ति दिएर आदिबासी जनजातिको सरकारमाथि पक्षपात गरेको बताए । कार्यक्रममा बोल्दै मेयरका उम्मेदवार तिलक राईले विजयी भएपछि नगरपालिकाबाट कुनै सेवा र सुविधा नलिनेसमेत घोषणा गरे ।

उनले विजयी भएपश्चात् २८ वर्षदेखि नगरपालिकामा भएको नीतिगत भ्रष्टाचार बाहिर ल्याउने उद्घोष गरे । नेपाली काङ्ग्रेसले चुनावीसभापूर्व शक्ति प्रदर्शन गरेको छ । पब्लिक स्कुलको हाताबाट निस्किएको प्रदर्शन भानुचौकको कोणसभामा परिणत भएको थियो । त्यसक्रममा विभिन्न पार्टी परित्याग गर्दै नेपाली काङ्ग्रेसमा प्रवेश गर्नेको लहर रहेको थियो । कार्यक्रममा वैदेशिक रोजगारीअन्तर्गत हङ्कङमा रहेका धरान–११ का टङ्क राना मगरलाई सम्मान–पत्रले सम्मानित गरिएको थियो ।