धरान/नेपाली काङ्ग्रेस खेलकुद क्षेत्र समन्वय समिति धरान सुनसरीले नेपाली काङ्ग्रेसका मेयरका उम्मेदवार तिलक राईलाई ११ बुँदे प्रतिवद्धतामा हस्ताक्षर गराएका छन् ।

मेयरका उम्मेदवार राईले आफू विजयी भए प्रतिवद्धता पूरा गर्ने बताए । उनले भने, ‘आफू पनि विभिन्न खेलमा प्रतिनिधित्व गर्दै आएको मान्छे हुँु । त्यसहिसाबले आफू निर्वाचित भए प्रतिबद्धता पूरा गर्छु ।’ खेलकुद क्षेत्र समन्वय समितिका संयोजक किशोर राईले घोषणा–पत्र वाचन गरेका थिए । प्रदेश नं. १ को सुनसरी जिल्लामा अवस्थित शैक्षिक, सांस्कृतिक पर्यटकीय एवम् जातीय विविधताले भरिपूर्ण सुन्दर नगरी धरान खेलकुदको शहरको रूपमा पनि सुपरिचित रहेको उनले बताए ।

नेपालको खेलकुदको इतिहासमा बक्सिङ खेलका ओलम्पियन नरेन्द्र पोमू, फुटबलका लेजेण्ड राजुकाजी शाक्य, कराँतेका थानेश्वर राईजस्ता महान् खेलका हस्तीहरू धरानले जन्माएको छ । उक्त खेल सङ्घ तथा क्लबहरूले आ–आफ्नो स्तरबाट धरानको खेलकुदको विकासको लागि पहल गरे तापनि स्थानीय, प्रदेश एवं संघीय सरकार सय क्षेत्रमा खेलकुदको विकास गर्न भौतिक पूर्वाधार निर्माण निर्माण गर्न एवम् पुनःनिर्माणको लागि आवश्यक बजेट विनियोजन गर्न सधै उदासिन रहँदा यस क्षेत्रको खेलकुदको विकास हुन सकेको छैन । नेपाली काङ्ग्रेसमा आवद्ध धरान उपमहानगरपालिका खेलकुद क्षेत्र समन्वय समितिद्वारा प्रस्तुत बुँदागत खेलकुद नीति कार्ययोजना यस्ता छन् ।

१, ‘धरान खेलकुदको शहर’को रुपमा नगरपालिकाद्वारा घोषणा गरिनु पर्ने र यसलाई विधिवत रुपमा सञ्चालन गर्न सबै खेल विद्यालाई सम्बोधन हुने गरी समाबेशी विद्यान निर्माण गरिनुपर्ने ।

२, आजको २१ औं शताब्दीमा ‘स्पोर्ट इज विजनेस’को लक्ष्य लिई समग्र खेलकुदको विकास तथा खेलाडी र खेलकर्मीको जीवनयापनलाई सहज र सरल बनाउन व्यावसायिकरणलाई जोड दिने ।

३, खेल संघको सक्रियतामा पदक जित्न सक्ने सम्भावित खेलकुदलाई पहिचान गरी प्राथमिकताका साथ प्रशिक्षक एवं प्रशिक्षण र प्रतियोगिताको व्यवस्था गर्ने ।

४, धरानलाई खेलकुद क्षेत्रबाट राष्ट्रिय अन्तराष्ट्रिय रुपमा चिनाउने व्यक्तित्वहरुको अभिलेखन सहितको स्पोर्टस पार्क बनाउने । साथै स्पोर्टस एकेडेमी सञ्चालन गर्ने ।

५, विद्यागत उत्कृष्ट वर्ष खेलाडि र उत्कृष्ट महिलालाई वर्ष खेलाडी र एकजना सर्वोत्कृष्ट महिला धरान वर्ष खेलाडी घोषणा गरी वर्ष खेलाडीका रुपमा पुरस्कृत गर्ने र समग्र खेलबाट एकजना सर्वोत्कृष्ट धरान वर्ष खेलाडी घोषणा गरी पुरस्कृत गर्ने ।

६, खेलकुद क्षेत्रलाई नगरपालिकाको अभिन्न अंगको रुपमा स्थापित गरी समग्र खेलकुदको विकासको निम्ति समावेशी बजेट विनियोजन गरी कार्यान्वयन गर्ने तथा अनुगमन गर्ने ।

७, हाल धरान उपमहानगरपालिकाको स्वामित्व,जिल्ला खेलकुद विकास समिति, स्कुल, कलेज, वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, संघसंस्था तथा क्लबहरुको स्वामित्वमा रहेको खेलकुदका पुराना भौतिक संरचनाहरुलाई मर्मत, स्तरोन्नति गर्न सम्बन्धित खेल तथा संघसंस्थासँग छलफल गरी ठोस योजनाका साथ भौतिक संरचनाको स्तरोन्नति गर्ने ।नयाँ भौतिक संरचना निर्माण गर्न धरान उपमहानगरबाट आवश्यक बजेट विनियोजित गर्नुका साथै भौतिक संरचनाको प्रस्ताव प्रदेश सरकार र संघीय सरकार समक्ष पेश गर्ने । वैदेशिक सहयोग प्राप्त हुन सक्ने दाताहरुसँग सहकार्य एवं सहयोगको लागि पहल गर्ने ।

८, लामो समयदेखि स्वयमसेवक प्रशिक्षको रुपमा रहेको प्रशिकहरुलाई उनीहरुको नियमितता, क्षमता र योगदानको मूल्यांकन गरी नगरपालिकाको करार प्रशिक्षकमा नियुक्त गर्ने । प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता, मिस्टर धरान शारिरिक सुगठन प्रतियोगिता लगायत धरानमा विगत वर्षदेखि संचालित खेल प्रतियोगिताहरुलाई समयानुसार बजेट निर्धारण गरी निरन्तरता दिने ।

९, विगत लामो समयदेखि सञ्चालित राष्ट्रिय, अन्तराष्ट्रिय, प्रदेश, जिल्ला तथा स्थानीय प्रतियोगिताहरुलाई समयानुकुल थप बजेट विनियोजन गर्ने तथा सम्पूर्ण खेल संघलाई वार्षिक कार्ययोजना बनाउन लगाई आवश्यक बजेट विनियोजन गरी कार्यान्वयनका साथै प्रभावकारी अनुगमनको व्यवस्थाग र्ने ।

१०, धरान उपमहानगरपालिका भित्र कुनैपनि खेल प्रतियोगिता सम्पन्न गर्दा आवश्यक मर्यादित, व्यवसायिक एवं रोजगारीको अवसर सृजना गर्ने ।

११, नेपाली कांग्रेस धरान उपमहानगरपालिका खेलकुद क्षेत्र समन्वय समिति २०७६ मंसिर १४ को उपनिर्वाचन पश्चात पनि निरन्तर गतिशिल रहनेछ ।

उक्त कार्यक्रममा विभिन्न विद्याका खेलाडीहरुलाई सम्मान समेत गरिएको थियो । कराते तर्फ किरण लामा, ब्याडमिन्टनबाट सम्झना खालिङ, तेक्वान्दोमा नविन चन्द्र मादेन, टेबलटेनिसमा दिपक श्रेष्ठ, बास्केटबलमा रवि बास्फोर, उसुमा शिव गुरुङ, बुद्धीचालमा पर्वतमान श्रेष्ठ, साईकलिङका श्याम तामाङ, प्याराग्लाइडिङमा तारामनि राई, क्रिकेटका राजकुमार कर्माचार्य, बडीविल्डििङमा इश्वर मानन्दर, फुटबलका भिम राई सम्मानित भएका थिए ।

कार्यक्रमका सभापति किशोर राई,पूर्व बक्सिङ खेलाडि, बक्सिङको ओलम्पियन च्याम्यिन नरेन्द्र पोमो, बरिष्ठ एथलेटिक्स राजभगत प्रधानाङ्ग, नेपाल ब्याडमिन्टन संघका केन्द्रीय उपाक्ष्य चन्द्रशेखर लामा, बरिष्ठ बक्सिङ प्रशिक्षक लगायतको उपस्थिति रहेको थियो ।