धरान / पूर्वअर्थमन्त्री एवम् नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले काङ्ग्रेसले जे बोल्छ, त्यो पूरा गर्ने दाबी गरेका छन् ।
नेपाली काङ्ग्रेसले धरान–२० विष्णुपादुकामा आयोजना गरेको कोणसभामा बोल्दै उनले भने, ‘काङ्ग्रेसले बोलेको कुरा पूरा गर्छ । कम्युनिष्ट जस्तो कुरा मात्र गर्ने काम नगर्ने पार्टी होइन ।’
उनले नेपाली काङ्ग्रेसले आफू हारेपनि जनतालाई हार्न नदिएको दाबी गरे ।
विष्णुपादुकाको सुहारामा आयोजना गरेको कोणसभामा बोल्दै कार्कीले काङ्ग्रेस सबै जाति, धर्मको साझा थलो भएको बताए । उनले भने, ‘पटक–पटक कम्युनिष्टले जितेको विष्णुपादुकासम्म आइपुग्ने बाटो हेर्दा कम्युनिष्ट काम होइन, कुरामात्र गर्ने पार्टी भएको स्पष्ट हुन्छ ।’ उनले आउँदो निर्वाचनमा धरानमा काङ्ग्रेसले जिते विष्णुपादुकामा स्तरीय सडक र अन्य विकासका पूर्वाधारहरू ल्याउने आफ्नो जिम्मा भएको बताए ।
सोही कोणसभामा बोल्दै नेपाली काङ्ग्रेसका जिल्ला सदस्य पदम लिम्बूले काङ्ग्रेसले हार्दाहार्दै पनि विष्णुपादुकालाई माया गर्न नछोडेको बताए । विष्णुपादुकामा टावर र सर्दुमा पुल नेपाली काङ्ग्रेसको नेतृत्वमा आएकाले भोट दिएर स्थानीय विकासको ढोका खोल्न आह्वानसमेत गरे । त्यस्तै काङ्ग्रेसका स्थानीय नेता अरुण कट्वालले कम्युनिष्टले जितेपछि फर्केर नआएको आरोप लगाए । उनले भने, ‘धेरै पटक कम्युनिष्टलाई जिताउनुभयो, अब काङ्ग्रेसलाई भोट दिनुस् । विकासमा धेरै फरक पाउनुहुनेछ ।’
धरानका काङ्ग्रेसका नेता अजय राईले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता वडा नं. २० नेपाली काङ्ग्रेसका सभापति राजकुमार तामाङले गरेका थिए ।