भण्टाबारी/ सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका–१ स्थित कोशी ब्यारेजमा मरेको गोही भेटिएको छ । बुधबार दिउँसो कोशी नदीले बगाएर ल्याएको गोही मरेको अवस्थामा भेटिएको हो ।

लगभग ७० केजी र ५ फिट लामो गोही देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मरेको अवस्थामा भेटिएको गोहीलाई कोशीटप्पु वन्यजन्तु आरक्ष पश्चिम कुशाहाको जिम्मा लगाइएको अस्थायी प्रहरी चौकी कोशी ब्यारेजका असइ बिनबहादुर पाण्डेयले जानकारी दिए ।

कोशी नदीले गोही बगाएर ल्याएको खबर पाएपछि स्थानीय प्रहरी घटनास्थल पुगेर उद्धार गर्ने योजना बनाए पनि मृत भेटिएकोले कोशीटप्पु वन्यजन्तु आरक्षका कर्मचारीले लगेको उनले बताए । केही महिनाअघि पनि एउटा गोही घाइते अवस्थामा भेटिएकोमा कोशीटप्पु वन्यजन्तु आरक्षले उपचार गरेर प्राकृतिक रूपमा छाडेको थियो । सोही घाइते गोही मरेको हुनसक्ने स्थानीयको अनुमान छ ।