यासोक/ एक दशक अगाडि तमोरको किनारै किनार भरियाका लस्कर हुन्थे । पाँचथर, धनकुटा र तेह्रथुमबाट तमोर किनार हुँदै व्यापारका लागि तराईका बजार झर्थे । तराईका बजार पुगेर फर्किँदा ५ दिनसम्म लाग्थ्यो ।

अहिले अवस्था फेरिएको छ । पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत तमोर कोरिडोरमा बस सञ्चालनमा आएपछि त्यहाँका नागरिकले राहत मात्रै पाएका छैनन् । पाँचदिने यात्रा घण्टामा सीमित बनेको छ । दैनिक धरान–पाँचथर बस सेवा सञ्चालनमा आएको छ । साँगुरी यातायातले धरानबाट पाँचथरको कुम्मायक गाउँपालिकासम्म बस सञ्चालनमा ल्याएको हो । पूर्वका पाँचथर धनकुटा र तेह्रथुम जिल्लाका नागरिकले उत्पादन गरेका अग्र्यानिक कृषिजन्य वस्तुको आयात र निर्यात सहज भएको छ ।

तमोर नदीको किनारै किनार कुम्मायक गाउँपालिकामा बस पुगेपछि स्थानीयले स्वागत गरेका थिए । एकै दिनमा धरान–यासोक बस सञ्चालनमा आउन थालेपछि पहाडबाट तराई र तराईबाट पहाड आवत जावत गर्नेको भीड बढेको साँगुरी यातायात प्रालिले जनाएको छ । यासोक धरानका लागि साना सवारी साधनले ८ सय रुपैयाँ भाडाँ लिदै आएका थिए तर बसले ५ सय ५० रुपैयाँ मात्रै भाडा लिने गरी व्यवस्था मिलाएको प्रालिका अध्यक्ष माधवप्रसाद घिमिरेले बताए ।

तत्कालको लागि धरानदेखि यासोकसम्म बस सञ्चालन भएको छ । केही दिनमै दमकदेखि यासोकसम्म अर्को बस सञ्चालन गर्ने तयारी पनि भइरहेको छ, घिमिरेले भने । धनकुटाको लुमुघाटदेखि तमोर नदीको किनारै किनार बस गुड्दा स्थानीयवासी भने हर्षित भएका छन् । छोटो दूरीबाट एक स्थानबाट अर्को स्थानमा पुग्न सहज हुने भएकाले बसको यात्रा गर्न सहज भएको पाँचथरको कुम्मायक ५ का स्थानीय गोविन्द पाण्डेले बताए । साना सवारी साधनमा सामाग्री ल्याउन र लान नसकिने भएकाले बसको सुविधाले धेरै सहज भएको उनको भनाइ छ ।

धनकुटास्थित तमोरको मुलघाटबाट पाँचथरको कुम्मायक गाउँपालिका सम्मको ६२ किलोमिटर सडकको ट्«याक खोल्ने काम पूरा भएपछि निरन्तर रूपमा साना र ठुला सवारी साधन आवत जावत गर्दै आएका छन् । धनकुटा र पाँचथरको केही स्थानमा चट्टान, पहरो र छाँगा भएकाले केही स्थानमा काम गर्न समस्या भएको निर्माण स्थलमा खटिएका निर्माण कम्पनीले जनाएका छन् ।

चतराबाट पाँचथरको अमरपुरसम्मको सडकमा सात वटा प्याकेजमा विभिन्न निर्माण कम्पनीले काम गर्दै आएका छन् । ६ अर्व २३ करोड, ४९ लाख रुपैयाँको लागतमा २०७४ सालदेखि तमोर कोरिडोरको काम हुँदै आएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना कार्यालय पाँचथरले जनाएको छ । तमोर कोरिडोरमा बस सञ्चालनमा आएपछि पाँचथर र धनकुटाका किसानले उत्पादन गरेका कागती र सुन्तला तराईका बजारसम्म सजिलै पुग्ने गरेका छन् ।