पथरी/ प्रदेश सरकारको बजेटबाट मोरङको बेलबारी–९ को सडक ग्राभेलमा आर्थिक अनियमितता भएको बारे ब्लाष्ट टाइम्स दैनिकमा समाचार प्रकाशन भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको छ ।

प्रदेश १ को भौतिक पूर्वाधार विकासबाट आएको ३० लाख बजेटबाट बेलबारी–९ को देवीगञ्जदेखि ढ्वाङढ्वाङे मेला लाग्ने स्थानसम्म ग्राभेल गर्ने योजना थियो । योजनाअनुसारको काम नभएको भन्दै उपभोक्ताहरूले असन्तुष्टि जनाएपछि ब्लाष्ट दैनिकमा समाचार छापिएको थियो । आर्थिक वर्ष २०७५/०७६ मा प्रदेशबाट आएको ३० लाख बजेटले दुई हजार तीन सय मिटर ग्राभेल गर्नुपर्नेमा १८ सय मिटर मात्र ग्राभेल गरेको थियो ।

समितिले पुरानो ग्राभेलमै पातलो गरी थपेको मात्र आम उपभोक्ताको गुनासो थियो । सो विषयमा भदौ १७ गते समाचार प्रकाशन भएको थियो । समाचार प्रकाशन भएपछि स्थानीयबासीले अख्तियार दुरुपायोग अनुसन्धान कार्यालय इटहरी सुनसरीमा विकास बजेटमा उपभोक्ता समितिको पदाधिकारी र प्राविधिक कर्मचारीहरू मिलेर भ्रष्टाचार गरेको भन्दै उजुरी परेको थियो । आर्थिक वर्षअगावै निर्माण सम्पन्न गरिसक्नु पर्ने भए तापनि समितिले भदौसम्म ग्राभेल गरेका थिए ।

समाचार आएपछि भदौ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा उजुरी परेको थियो । आयोगले २४ गते बेलबारी नगरपालिकालाई पत्र काटेको थियो । अख्तियारले पातलो मात्र ग्राभेल गरेको बारे उजुरी परेको भन्दै योजनाको लगत स्टिमेट, उपभोक्ता समिति छनौट भएको निर्णय, योजना सम्झौता पत्र, रेट एनालाइसिस, दररेट, कार्य मूल्याङ्कन, कार्य सम्पन्न प्रतिवेदन अनुगमन समितिको निर्णय, योजनाको प्रमाणित तस्बिरहरू, रकम हिनामिना भए–नभएको बुझी सत्य–तथ्य रायसहित प्रतिक्रिया पठाउनू भन्दै अख्तियारले पत्र काटेको थियो ।

अख्तियारको पत्र आएपछि नगरप्रमुख ज्ञानेन्द्र सुवेदी सडक निरीक्षण गर्न पुगेका थिए । समाचार प्रकाशनपछि उपभोक्ता समितिले भने पुनः ग्राभेल लगाएको उपभोक्ता धर्मराज राईले बताए । सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष माधव दाहालले आफूलाई अख्तियारको पत्र बारे केही जानकारी नभएको उत्तर दिए । पछि इञ्जिनियरले नापजाँच गर्दा प्राविधिक स्टिमेटअनुसारको नाप नपुगेपछि १ सय ५ टिपर गिट्टी थपेर असोज महिनामा पुनः ग्राभेल थपेको बताए । नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले भने योजना नगरको नभएकोले अख्तियारलाई सोहीअनुसार जवाफ पठाएको बताए ।

Bel-1