भण्टाबारी/ सुनसरीको दुहबी नगरपालिका क्षेत्रमा सञ्चालित उद्योगको लापरबाहीले दुई दिनमा दुई जना मजदुरको ज्यान गएको छ ।
दुहबी नगरपालिका–३ स्थित फुटानी चौकमा सञ्चालित उद्योगको लापरबाहीले दिन प्रतिदिन काम गर्ने मजदुरको मृत्यु भए पनि प्रहरी प्रशासनले कुनै चासो नलिएको स्थानीयले गुनासो गरेका छन् । दुहबी नगरपालिका क्षेत्रमा सारडा ग्रुपअन्तर्गत सञ्चालित पशुपति खाद्य उद्योग र न्युटिन फुड्स प्रालि मैदा मिलमा दुई दिनमा दुई जना मजदुरको मृत्यु भएको हो । दुहबी नगरपालिकामा सारडा ग्रुपका आधा दर्जन उद्योग सञ्चालित रहे पनि प्रायःजसो असुरक्षित नै रहेको स्थानीय बताउँछन् ।
पशुपति खाद्य उद्योगमा करेन्ट लागेर शुक्रबार दुहबी नगरपालिका–११ बस्ने अन्दाजी २५ वर्षका पवन पासवानको मृत्यु भएको थियो । शनिबार न्युटिन फुड्स प्रालि मैदा मिलमा सप्तरी बेलहा बस्ने वर्ष ४५ का चन्द्रेश्वर मण्डलको ६ तल्लाबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । दुवैको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
एउटै हाताभित्र दुईवटा उद्योग रहेको बताउँदै स्थानीय अकबर अलीले ३ महिनाअगाडि पनि सोही उद्योगमा एकजना भारतीय मजदुरको ज्यान गएको बताए । पटक–पटक सारडा ग्रुपको उद्योगको लापरबाहीले काम गर्ने मजदुरको ज्यान गए पनि कतैबाट कुनै सुनुवाइ नभएको उनले बताए ।
सुरक्षा दृष्टिले असुरक्षित मानिने दुहबीको उद्योगमा बारम्बार लापरबाहीले काम गर्ने मजदुरले ज्यान गुमाउँदै आए पनि प्रहरीले देखाउनको लागि मात्र अनुसन्धान गर्ने गरेको स्थानीयको आरोप छ । प्रहरीको अनुसन्धान फितलो हुँदा उद्योग सञ्चालकको मनोमानी बढेको अकबरको भनाइ छ ।
गरिब जनता जीविकोपार्जनको निम्ति असुरक्षित भएर दुहबीको उद्योगमा काम गर्दै आएको जनाउँदै अकबरले उद्योगलाई व्यवस्थित गर्नुपर्ने माग गरे । उनले भने, ‘काम गर्ने मजदुर सात तल्लामाथि हिँडेर जानुपर्छ लिफ्ट छैन, मैदामा चिप्लिएर लड्ने गरेका छन् ।’