धरान । एक सय ९२ वर्ग किलोमिटर क्षेत्रफल मात्रै रहेको धरान क्षेत्रफल र जनसङ्ख्याको आधारमा देशकै सबैभन्दा बढी मासुखपत हुने स्थानीय तह हो । शहरका हिसाबले भने यो काठमाडौं, पोखरापछि तेस्रोमा आउँछ । यहाँ दैनिक खसी, कुखुरा, राँगा, सुँगुर गरी १२ हजार ६ सय केजी मासु खपत हुन्छ । यो तथ्याङ्क धरान मासु व्यवसायी सङ्घ र मासु व्यवसायी तथा प्राविधिक सङ्घको हो ।

२०६८ को जनगणना अनुसार एक लाख ३७ हजार ७ सय ५ जनसङ्ख्यालाई भाग गर्ने हो भने दैनिक एक जनाको भागमा ०.०९१४ केजीभन्दा बढी मासु पर्छ । यतिधेरै मासु खपत हुने धरानमा अहिलेसम्म पनि उपभोक्ताको स्वास्थ्यमाथि ख्याल गरेर मासु पसल सञ्चालनमा आएको पाइँदैन । एक दशकअघि धरान उपमहानगरले वधशाला निर्माण गर्ने भनी अवधारणा ल्याएको थियो । तर, त्यो अवधारणा हालसम्म पनि कार्यान्वयनमा आउन सकेको छैन ।

२० वर्षे लामो जननिर्वाचितविहीन सरकारका कारण धेरै योजनाहरूले मूर्तता पाउन सकेको थिएन नै । तर, २०७४ असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनपछिको २ वर्षे अवधिमा पनि वधशालाको खाका कोर्न सकेको छैन । तर, धरान उपमहानगरकी कार्यबाहक मेयर मञ्जु भण्डारी सुवेदीले ‘बधशालाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)’ बनाउने चरणमा रहेको खुलाइन् ।

के–को मासु कति खपत ?
कुखुराः करिब ५ हजार केजी
खसी : ४ सय केजी
राँगाभैँसीः २२ सय केजीदेखि २५ सय केजीसम्म
सुँगुरः ५ हजारदेखि ५५ सय केजीसम्म
स्रोतः मासु व्यवसायी तथा प्राविधिक सङ्घ र धरान मासु व्यवसायी सङ्घ


उनका अनुसार स्थानीय सरकार आएपछि डीपीआरकै लागि चालू आर्थिक वर्ष २०७६÷०७७ मा डेढ करोड रुपैयाँ बजेट विनियोजन गरेका छौं । १० वटा डीपीआरमध्ये बधशाला पनि एउटा रहेको उनको दाबी छ । त्यसका लागि धरान–१५ र ११ मा जग्गा खोजी गर्ने कार्य भइरहेको छ । त्यसो त, २०५५ सालमै पशु वधशाला र मासु चाँज ऐन बनेको छ । उक्त ऐनमै वधशालाका बारेमा स्पष्ट व्यवस्था गरेको छ । वधशाला निजी तथा सरकारी तहबाट बनाउन सक्ने भनि व्यवस्था गरेको छ ।

वधशाला हुँदा उपभोक्ताले स्वच्छ तथा स्वस्थ्य मासु खान पाउने मासु प्राविधिकहरूको तर्क छ । धरानमा वर्षेनि गरिने अनुगमन तथा निरीक्षणमा पनि ‘अधिकांस मासु पसलहरु सुधार गर्नुपर्ने’ भन्दै मासु पसलेहरूलाई अनुगमनमा खटिएकाहरूले निर्देशन दिँदै आएका छन् । तर, कार्यान्वयन भने हुन सकेको छैन । यसबाटै पनि धरानको मासु पसलको अवस्थाबारे प्रष्टिन्छ ।

खाद्य प्रविधि केन्द्रीय विभागका उपप्राध्यापक तथा मासु प्राविधिक देवराज आचार्य भन्छन्, ‘धरानमा मासु, स्वस्थताको हिसाबले कमजोर देखिन्छ । छाला फालेको, छाप लगाएको मासु मात्रै खानुपर्छ भन्ने छ । तर, त्यो छैन ।’ उनका अनुसार जबसम्म वधशाला बन्दैन तबसम्म सुरक्षित हुँदैन । प्राविधिक आचार्यका अनुसार खुल्ला स्थलमा राखिएको मासु आधा घण्टाभित्रमा बिग्रिसकेको हुन्छ । तीनघण्टाभित्रमा खान नहुने गरी किटाणु जन्मिसकेको हुन्छ । जुन हाम्रो खुल्ला आँखाले देख्न सक्दैनौं । यसका लागि पनि वधशाला नै उत्तम विकल्प मान्छन् उनी । प्राविधिकहरु मात्रै हैन, धरान मासु व्यवसायी सङ्घका अध्यक्ष मदन तामाङ पनि वधशाला पहिलो सर्त रहेको बताउँछन् ।

वधशालाको पक्षमा मासु व्यवसायी पनि
स्वस्थ्यताको हिसाबले वधशाला निर्विकल्प रहेको मान्छन्, मासु व्यवसायीहरू । ‘अहिले समग्रमा हेर्ने हो भने मासु व्यवसायीहरूले सामान्य मापदण्ड पनि पूरा गरेका छैनन्’ धरान मासु व्यवसायी सङ्घका अध्यक्ष तामाङ भन्छन्, ‘वधशालामा गइसकेपछि स्वस्थ्यकर मासु र खानयोग्य मासु पाइन्छ ।’ वधशालाका लागि सङ्घहरूले स्थानीय सरकारलाई नघच्घच्याएको पनि होइन । तर, स्थानीय सरकार यो विषयमा गम्भीर नभएको आरोप उनको छ । ‘स्थानीय सरकारले बढीभन्दा बढी चासो दिनुपर्यो’ उनी थप्छन्, ‘व्यवसायीहरूमा पनि वधशालाको चेतना हुनुपर्यो ।’

यता मासु व्यवसायी तथा प्राविधिक सङ्घका उपाध्यक्ष ओम कटुवाल पनि वधशालाको आवश्यकता भइसकेको ठान्छन् । तीव्र शहरीकरणका कारण जग्गा खुम्चिँदै गएकाले पनि वधशाला मात्रै अबको विकल्प हुन सक्ने उनको ठहर छ । ‘वधशाला हुँदा वधशालामा कटिङ हुन्थ्यो, त्यसपछि मासु पसल–पसलमा पुर्याउन सकिन्थ्यो । स्वस्थ्य र वातावरणीय हिसाबले नै ठीक हुन्थ्यो’–उनी भन्छन् ।

स्थानीय सरकारले जग्गा, पानी र विद्युत् उपलब्ध गराइदिने हो भने व्यवसायीहरूले आफ्नै पहलमा पनि वधशाला निर्माण गर्न सक्ने उनीहरू बताउँछन् । नगरले कार्यपालिका बैठकबाटै वधशाला निर्माण गर्छौ भन्ने कार्यविधि बनाएर आए मात्रै सम्भव हुने देख्छन् सङ्घहरू ।

वधशालाको फाइदा
‘वधशाला हुँदा फाइदैफाइदा छ नी’ उपाध्यक्ष कटुवाल भन्छन् । उनका अनुसार स्वास्थ्यका हिसाबले, धुलोधुवा, दुर्गन्धको हिसाबले, वातावरणीय हिसाबले पनि वधशाला आवश्यक हो । प्राविधिक चेकजाँच भएर मात्रै पशु वध हुने भएकाले पनि स्वस्थ्यकर मासु उपभोक्ताले खान पाउने मासु प्राविधिक आचार्यको भनाइ छ । पशु वधशाला र मासु जाँच ऐन २०५५ को दफा ८ मै पशु वध गर्नुअघि जँचाउनु पर्ने भन्ने उल्लेख छ ।