विराटनगर/ बञ्चरो प्रहार गरेर रङ्गेली नगरपालिका– ९ दर्बेसाका ६४ वर्षीय पहाडचन राजवंशीको हत्या गर्ने सोही ठाउँका १९ वर्षीय भरतलाल राजवंशीलाई प्रहरीले २ वर्षपछि पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रङ्गेलीका इन्स्पेक्टर लेखनाथ दाहालको नेतृत्वमा खटिएको टोलीले मङ्गलबार राजवंशीलाई पक्राउ गरेको हो ।

हत्यामा संलग्न भरतलाललाई पक्राउ गर्न ठूलो मेहनत गर्ने रङ्गेलीका इन्स्पेक्टर दाहाल घटना भएका बेला नेपाल प्रहरीको क्षेत्रीय अनुसन्धान समूह (रिट) मा कार्यरत थिए । तत्कालीन अनुसन्धानबाट हत्या भरतले नै गरेको निष्कर्ष निकालिए पनि भारततिर फरार भएका कारण उनलाई पक्राउ भने गर्न प्रहरीले सकेको थिएन ।

तर अहिले रङ्गेलीको प्रहरी प्रमुख रहेका उनै इन्स्पेक्टर दाहालले पुरानो फाइल खोतल्दै गम्भीर आरोप लगाएर गरिएको हत्यामा संलग्नलाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याएका हुन् ।

घटनापछि फरार रहेका भरतलाई गाउँमै फर्किएर लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । कोइरालाले बाटो ढुकेर बञ्चरो प्रहार गरी २०७४ साल असार ११ गते भरतले पहाडचनको हत्या गरेको प्रहरीको भनाइ छ ।