धरान/ औषधि पसलहरुमा अनुगमन गर्ने क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरुले फुड सप्लिमेन्ट (खाद्य पुरक) सामग्रीहरु बिरामीलाई सिफारिस गर्ने गरेको भेट्यो ।

त्यही आधारमा औषधि व्यवस्था विभाग शाखा कार्यालय विराटनगरले कात्तिक ३ गते खाद्य पुरक सामग्रीको बिक्रीबितरण रोक्न भन्दै बीपी प्रतिष्ठानका उपकुलपति र त्यसको बोधार्थ औषधि पसलहरुलाई दियो । विभागले औषधि पसलहरुलाई ‘सात दिनभित्र खाद्य पुरक सामग्री हटाउनु’ भन्ने निर्देशनात्मक बोधार्थ दिइएको थियो । विभागको बोधार्थ नेपाल औषधि व्यवसायी सङ्घ सुनसरीलाई पनि दिइएको छ । त्यही आधारमा सङ्घका महासचिव सुवास पौडेलको नेतृत्वमा बीपी प्रतिष्ठान गेट अगाडिका औषधि पसलहरुबीच सोमबार छलफल गर्दै सबै खाद्य पुरक सामग्री हटाउने निर्णय गरेको छ ।

तर, मेडिकल पसलका सञ्चालकहरुले चिकित्सकहरुले अहिले पनि खाद्य पुरक सामग्रीहरु बिरामीलाई सिफारिस गर्न नछाडेको दाबी गर्छन् । ‘पेसेन्ट र पसलेको समस्या होइन, डाक्टरमा समस्या हो’ औषधि पसलसमेत सञ्चालन गर्दै आएका महासचिव पौडेल भन्छन्, ‘डाक्टरले लेख्न छाडेमा हामी राख्दैनौं ।’ विशेष गरी बीपी प्रतिष्ठानमा आउने बिरामीहरुलाई अनभिज्ञताको फाइदा उठाउँदै डाक्टरहरुले खाद्य पुरक सामग्रीहरु लेखिदिने गरेका छन् ।

मेडिकल हल सञ्चालकहरुका अनुसार जनरल ओपिडी, अर्थो ओपिडी, प्रशुति, आकस्मिक कक्षबाट डिस्चार्ज लिएकाहरुलाई बढी खाद्य पुरक सामग्रीहरु सिफारिस गरिदिने गरेका छन् । महासचिव पौडेलले खाद्य पुरक सामग्री उत्पादक कम्पनीहरुले डाक्टरहरुलाई कमिसन दिने कारण औषधि व्यवस्था विभागमा दर्ता नभएका खाद्य पुरक सामग्री पनि सिफारिस गरिदिने गरेको दाबी गरे ।

‘डाक्टरहरुले कमिसन पाउने कारण बिरामीलाई सिफारिस गरिरहेका छन्, जसले गर्दा हामीले राख्न बाध्य बनेका छौं’–उनले भने । के त्यसो हो भने प्रतिष्ठानका डाक्टरहरुले खाद्य पुरक सामग्रीहरु सिफारिस नर्गलान् त ? आम मेडिकल सञ्चालकको प्रश्न छ । अनिता मेडिकल हलका सञ्चालक वीरेन्द्र गुप्ताले डाक्टरहरुले लेख्दैनन् भन्ने कुरा सुनिश्चित हुनुप¥यो, अनिमात्रै समस्या समाधान हुने बताए । डाक्टरहरुको सिफारिसका कारण बाध्य भएर राख्नु परेको उनले पनि बताए । विभागको पत्र प्राप्त गरेको कार्यबाहक उपकुलपति प्रा.डा. गुरु खनालले मङ्गलबार नै डाक्टरहरुलाई राखेर निर्देशन दिइसकेको बताए । त्यसका लागि सूचना जाहेर गर्नका लागि अस्पताल निर्देशक प्रा.डा. गौरीशङ्कर साहलाई निर्देशन दिएको उनले बताए । ‘मिटिङमा प्रष्ट निर्देशन दिएको छु’ उनले फोनसम्पर्कमा भने, ‘स्वीकृत भन्दा बाहिर गएमा त्यसको जिम्मेवार स्वयम् चिकित्सक हुने भन्ने गरी सूचना पनि टाँस गर्न निर्देशन दिइसकेको छु ।’

नियमभन्दा बाहिर गएमा जोकोही डाक्टरहरु कारबाही भागीदार हुने उनले दाबी गरे । विभागले स्वीकृत गरेको खाद्य पुरक सामग्रीभन्दा बाहिरका खाद्य पुरक सामग्रीहरु बिरामीलाई बढीभन्दा बढी सिफारिस गर्ने अनुगमनका क्रममा फेला परेको पत्रमा उल्लेख गरेको छ । विभागमा दर्ता गरी स्वीकृत रहेका खाद्य पुरक सामग्री मात्रै लेखिदिनका लागि निर्देशन गरेको छ । विभागले १ सय ४९ प्रकारका खाद्य पुरक सामग्रीहरु हटाउनका लागि निर्देशन दिएको हो । विभागमा दर्ता भएको खाद्य पुरक सामग्रीको बजार मूल्य ७० रुपैयाँको हाराहारीमा पर्छ भने सोही प्रकृतिका अन्य खाद्य पुरक सामग्रीको बजार मूल्य १ सय रुपैयाँदेखि ४ हजार ५ सय रुपैयाँसम्म पर्ने मेडिकल सञ्चालक बताउँछन् । जसले गर्दा बिरामीहरु आर्थिक भार थोपरिने गरेको छ । विभागले चिकित्सकले सिफारिस गरिदिएको खाद्य पुरक सामग्रीको गुणस्तरीयता, असरयुक्त, जनसुरक्षितको विषयमा पनि प्रश्न उठाएको छ ।