दमक/ गत मङ्गलबार रातको करिब २ बजेको थियो । घरमा सुतिरहनु भएकी दमक १ की सुकमाया तामाङको घरमा एक्कासी सर्याकसुरुक गरेको आवाज आयो ।

नजिकै रतुवा खोला र हम्से दुम्से वन रहेका कारण यस ठाउँमा चोरको विगविगी समेत हुने गरेकाले त्यो रातमा पनि चोर आएछ र लखेट्न प¥यो भनेर भाला र हतियारसहित बाहिर निस्कँदा हात्तीले आफ्नो पसल भएको घर भत्काइरहेको देख्दा आफू आत्तिएको बताइन् । ‘चोर भनेर उठेको हात्ती देख्दा तर्सिएँ’ तामाङले भनिन् । ‘हात्ती देख्ने बित्तिकै मेरो हंसले ठाउँ छोडिगयो, अचानक चिच्याएँ, त्यसपछि गाउँले उठे र हात्ती पनि भाग्यो ।’ गाउँले उठेर हो हल्ला गर्न थालेपछि हात्ती पनि भागेको उनले बताइन् । त्यतिन्जेल सम्ममा उनको पसल भएको घरको पछाडिको भित्ता, पसलभित्र राखीएका अन्नका बोरा र पसलको शोकेशमा क्षति पु¥याइसकेको थियो । तामाङ भन्छिन् ‘एक वर्षलाई पुग्ने गरी कोदो र धान राखेको थिएँ सबै नष्ट भयो । ’

झापाको दमकमा फेरि हात्तीले सास्ती दिन थालेको छ । दमकको उत्तरी क्षेत्रका नागरिक हात्तीका कारण पटक पटक सास्ती भोग्न बाध्य रहेका छन् । हात्तीले पटक पटक दुःख दिन थालेपछि प्रभावित क्षेत्रका नागरिकले यसको दिगो समाधानको माग गरेका छन् । दमक १ स्थित बुद्ध टोल सहित अन्य आसपासका नागरिकहरूको यो पीडा अहिले दैनिकजस्तो बन्ने गरेको छ । हरेक दिन यो बाटो भएर हात्ती हिँडने गरेको र कसैको बाली, भण्डारण गरेर राखेको अन्नलगायतमा क्षति पुर्याउने गरेको छ ।

त्यसैले अब चाहिँ हात्ती आउने ठाउँको पहिचान गरेर हात्ती गाउँ पस्ने बाटो नै बन्द गर्नुपर्ने स्थानीयबासीको माग रहेको छ । बुद्ध टोल विकास संस्थाका अध्यक्षसमेत रहेका राजकुमार राई भन्छन् ‘हात्ती गाउँ पसेपछि क्षति नगरेको दिन हुँदैन । बरु हात्तीलाई नै गाउँ छिर्न नदिने उपाय रच्नुप¥यो ।’ हात्ती गाउँ छिर्ने बाटो पत्ता लगाएर त्यस आसपासमा विद्युतीय धरापसहितको तारजाली लगाएर वा त अग्लो र बलियो पर्खाल लगाएर हात्ती आउने बाटो बन्द गर्न सकिन्छ भन्ने उनले सुझाव समेत दिए ।

यता स्थानीय जनप्रतिनिधि भने यसरी हात्तीले पटक पटक सास्ती दिँदा केही हजार रुपैँया राहत दिएकोमा गौरावान्वित बनेको छ । अघिल्लो वर्ष पनि यस क्षेत्रमा हात्तीले क्षति पु¥याएको थियो हामीले हात्तीबाट पीडित बनेकालाई केही राहत रकम वितरण ग¥यौं । दमक नगरपालिका वडा नं १ का वडाअध्यक्ष ताराप्रसाद अधिकारीले भने । वडाध्यक्ष अधिकारीका अनुसार तत्कालका लागि हात्ती गाउँ पसिहालेमा रातको समयमा परैबाट हात्ती देख्नका लागि सचेत रहन सकिने बताउँछन् ।

जसका लागि सडक बत्ती लगाएर हात्तीको आक्रमणबाट बच्न सकिने भन्दै सडक बत्ती विस्तार गर्ने योजना रहेको बताउँछन् । ‘हात्ती प्रभावित क्षेत्रमा हामी सडक बत्ती लगाउने योजनामा छौं त्यसका लागि बजेट पनि विनियोजन भइसकेको छ । त्यसैको कार्यान्वयनमा हामी लागि परेका छौँ ।’ वडाध्यक्ष अधिकारीले हात्तीबाट जोगिन साइरन र टर्च लाइटसमेत उपयोगी हुने भएकाले त्यसको वितरणमा समेत वडा कार्यालयले बजेट छुट्याउने गरेको बताए । हात्ती प्रभावित क्षेत्रको हरेक टोल विकास संस्थामा कम्तीमा एउटा साइरन र टर्च लाइट चाँडै वितरण गर्न उनले प्रतिबद्धता जनाए ।