धरान / धरान गल्फ क्लबले निर्वाणा कन्ट्री क्लब तथा गल्फ रिसोर्टमा वार्षिक रुपमा हुने गल्फ प्रतियोगिताको समय तालिका सार्वजनिक गरेको छ ।
यसअघि तालिकाबिनै प्रतियोगिता गराउँदै आएको छ । क्लबले शुक्रबार कोर्षमा पत्रकार सम्मेलन गर्दै यस वर्ष दशैं कपबाट गल्फ प्रतियोगिता प्रारम्भ गर्न लागेको हो । जसमा ४ वटा प्रतियोगिता मुख्य रहेको सचिव जितेन्द्र राईले बताए । ‘विगतमा तालिकाबिनै प्रतियोगिता गराउँदै आएका थियौं, यो वर्षबाट नियमित गर्ने गरी खेल तालिका निर्माण गरेका हौं’ उनले भने ।
तालिकाअनुसार शनिबार दशैं कप गराउने भएको हो । जसमा धरानका एमेच्योर गल्फरहरुले स्पर्धा गर्दैछन् । १८ होल पार ७० को खेल स्ट्रोक प्लेका आधारमा हुनेछ । त्यस्तै तिहार कप अक्टोबर २६ तारिखका दिन खेलाउने भएको छ । २३ नोभेम्बरमा पिग कप खेलाइँदै छ । जसको प्रायोजन धरान–१९ निवासी हाल विदेशमा रहेका किरण लिम्बूले गरिरहेका छन् । त्यस्तै २१ डिसेम्बरमा मेयर कप हुने भएको हो । यो मुख्य प्रतियोगिता अन्तर्गतको हो । ३० जनवरीमा इन्द्रबराह कप, २९ फेब्रुअरीमा प्रेसिडेन्ट कप, २१ मर्चमा चेयरमेन कप र २०२० को डिसेम्बरमा वार्षिक गल्फ टुनामेन्ट गरिने भएको हो ।
यो तालिकामा सहभागी भएर प्रतियोगिता जित्ने खेलाडीहरुको वार्षिक गल्फ टुनामेन्टमा रेटिङ गरिने कोषाध्यक्ष राजु राईले बताए । हरेक वर्ष यही तालिकाअनुसार अबको प्रतियोगिता गरिन लागिएको छ । यो वर्ष अविरल वर्षाका कारण केही ढिलाइ गरी प्रतियोगिता शुरु भएको उनले बताए ।