धरान/दशैं, तिहारजस्ता ठूला चाड नजिकिँदै गर्दा गायिका मेलिना राईको व्यस्तता बढ्दो छ ।

एकपछि अर्को चर्चित गीत गाइरहेकी मेलिना केही दिनयता पूर्वका विभिन्न ठाउँमा दैनिक भइरहेका साङ्गीतिक कार्यक्रममा व्यस्त छिन् । असोज ८ मा उदयपुरको गाईघाटमा आयोजित साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिएकी मेलिनाले असोज ९ मा झापाको सुरुङ्गामा आइन् ।

आज (असोज १०मा) उनी भेडेटारको थुम्कीस्थित भेडेटार भिलेज रिसोर्टमा आयोजित साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिँदैछिन् । त्यसैगरी भोलि (असोज ११ मा) इटहरीमा हुने ‘नेपाल आइस प्रादेशिक सङ्गीत यात्रामा गाउँदैछिन् ।

मेलिनाले यसपटकको पूर्वको साङ्गीतिक कार्यक्रममध्ये ठूलो कार्यक्रम मानिएको प्रादेशिक सङ्गीत यात्रामा उनलाई गायक छेवाङ लामा र एपी शेर्पाले साथ दिनेछन् । कार्यक्रममा प्रदेश नं. १ स्तरीय स्टेट वान सिङ्गिङ आइडलका टप १३ का फाइनलिस्टको समेत प्रस्तुति रहने बताइएको छ ।

कार्यक्रम सात्विक कुकिज र वाईवाई चाउचाउको सहभागितामा तथा नेपाल आइसको मुख्य प्रयोजनमा सिल्भर इन्टरटेनमेन्टले आयोजना गरेको हो ।

प्रदेश नं. १ पछि प्रदेश नं. २ को मुख्य शहर जनकपुरमा आगामी छैठपर्वको अवसरमा नेपाल आइस प्रादेशिक सङ्गीतयात्रा आयोजना हुने र लगत्तै अन्य प्रदेशका मुख्य शहरहरूमा पनि कार्यक्रम आयोजना गरिने आयोजक सिल्भर इन्टरटेनमेन्टले जनाएको छ ।