बिर्तामोड / प्रतिकुल मौसमका कारण झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने भनिएकोे हाम्रो पूर्वाञ्चल अन्तराष्ट्रिय गोल्डकप स्थगित भएको छ । असोज ११ गतेदेखि १८ गतेसम्म गोल्डकप हुने मिति तय गरेर आयोजकले खेल तालिका सार्वजनिक गरेको थियो ।
निरन्तरको वर्षाका कारण खेल मैदानमा पानी र हिलो भएका कारण निर्धारित समयमा खेल सञ्चालन गर्न असमर्थ रहेको भन्दै आयोजक जायोन स्पोर्टस् क्लबले बिहीबार रंगशालामै पत्रकार सम्मेलन गरेर स्थगित भएको जनाएको हो । आयोजक क्लबका प्रवक्ता अविनाश राईले गोल्डकपको सम्पूर्ण तयारी गरिसकेपछि खराब मौसमकै कारण प्रतियोगिता स्थगन गर्नु परेको बताए ।
प्रवक्ता राईले कात्तिक २ गतेदेखि ९ गतेसम्म अर्को मिति तय गरिएको बताएका छन् । उनका अनुसार अर्को मितिका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पत्राचार गरिएको छ । कात्तिक २ गतेदेखि अर्को मिति तय भएको खण्डमा थ्री स्टार क्लब बंगलादेश जाने भएकाले मनाङ मस्र्याङदी क्लब वा सशस्त्र प्रहरी बलको एपिएफ टीम मैदानमा उतार्ने तयारी गरिएको पनि उनले बताए ।
प्रतियोगितामा यसअघि चार वटा ए डिभिजन क्लब, मोफसलका दुई र भारतका दुई टिमले सहभागिता जनाउने खेल तालिका सार्वजनिक गरिएको थियो । जसमा झापा ११ एफसी, नेपाल पुलिस क्लब, भारतको सिक्किम आक्रामक एफसी, असामको मोलवे फुटबल क्लब, संकटा क्लब, विभागीय टोली त्रिभुवन आर्मी, थ्री स्टार क्लब र गोर्खा ब्वाइज रुपन्देही रहेका थिए ।