हिन्दू धर्मावलम्बीको मुख्य चाड दशैंतिहार नजिकिँदो छ । १० दिनसम्म मनाइने दशैं सम्झिएर विदेशिएका नेपालीहरू पनि फर्किएर थातथलोमा आइपुग्छन् । तेस्रो देशमात्रै हैन, छिमेकी देशबाट फर्किनेहरूको पनि उस्तै गरी ताँती लाग्छ । यही बेला सबैको ध्याउन्न कसरी दशैं टार्ने भन्ने हुन्छ । दशैं टार्ने नाममा अपराध कर्ममा सक्रिय हुनेहरूको पनि कमी हुँदैन हाम्रो समाजमा । यो बेला दुले चोरको पनि बिगबिगी हुने बेला हो । चोरी, डकैती, लुटपाट दिनहुँ हुने हाम्रो समाजमा दशैंको बेला झनै बढ्छ । यस्तै कुरालाई मध्यनजर गरेर प्रदेश १ प्रहरी कार्यालयले चाडलक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । दशैं आउन १२ दिन मात्रै बाँकी छ । यही सन्दर्भमा हरेक वर्ष चाडलक्षित प्रहरीले सुरक्षा योजना सार्वजनिक गर्दै आइरहेको छ । चाडवाडका बेला चोरीका घटना बढी हुने भएकाले प्रहरी सक्रिय हुनु एकदमै सकरात्मक कुरा हो ।

तर, चोरी, डकैतीमा प्रहरीले सोचेअनुरूपको प्रगति हासिल गर्न नसकेका थुप्रै उदाहरणहरू छन् । चाडका बेला चोरीका घटना बढी हुने गरेको यथार्थ पनि हामीसामु लुक्न सकेको छैन । किनकी यही बेला सबैले राम्रो लाउने र खाने सपना पालेका हुन्छन् । यस्तो बेलामा अनैतिक गतिविधि बढ्ने क्रम पनि झाँगिदो छ । किनकी हाम्रा चाड दिनानुदिन खर्चालु बनिरहेका छन् । मीठो खाने र राम्रो लगाउने प्रतिस्पर्धाले गर्दा पनि समाजमा गलत गतिविधिले प्रश्रय पाइरहेको छ । नेपाली उक्ति ‘घाँटी हेरी, हाड निल्ने’ भन्दा पनि त्यसको ठीक विपरीत हुने गरेको छ । यसले पनि अपराधका ग्राफहरूलाई बढाइरहेको पाइन्छ । अपराध नियन्त्रणमा खटिँदै आएको प्रहरीका लागि पनि चाडवाडको बेला चुनौती थपिने गरेको छ । त्यही कारण पनि हुनसक्छ हरेक वर्षको चाडमा सुरक्षा योजना सार्वजनिक गर्ने गरिएको छ ।

चाडलक्षित सुरक्षा योजनालाई प्रचारमुखी होइन, प्रगतिमुखी बनाउन आवश्यक छ । अपराध न्यूनीकरणको अहम् जिम्मेवारी बोकेको प्रहरी प्रशासनले यस्ता सुरक्षा योजना चाडमा मात्रै हैन, अन्य बेला पनि बनाउन जरुरी छ । चोरी, लुटपाट दशैंमा मात्रै हुने भन्ने हुँदैन । अन्यबेला पनि हुँदै आइरहेको सन्दर्भ माथि नै उठाइसकिएको छ । त्यसैले अपराध नियन्त्रणमा जुटेको नेपाल प्रहरीले यस्ता सुरक्षा योजना वर्षको बाह्रै महिना बनाउनुपर्छ । ताकि अपराधका द्वारहरू बन्द गर्न सकियून् । चाडलक्षित सुरक्षा योजना कार्यान्वयन उन्मुख हुन सकेमा मात्रै अपराधको बीजारोपणको ढोका सधंैका लागि बन्द हुन सक्छ । त्यसका लागि पनि सचेत बन्ने बेला हो यो प्रहरी र नागरिकका लागि ।