लक्ष्मीमार्ग/बेलबारी डोरीतान नगर समितिको आयोजनामा बेलबारी ६ स्थित यलम्बर खेल मैदानमा विद्यालय स्तरीय डोरीतान प्रतियोगिता सम्पन्न भएको छ ।

बेलबारी नगरपालिका डोरीतान नगर समितिको आयोजना र बेलबारी नगरपालिका ६ को विशेष सहयोगमा विद्यालय स्तरीय डोरीतान प्रतियोगितामा माउण्ट एभरेष्ट बोडिङ स्कूल प्रथम बनेकाे छ । बेलबारीमा रहेका सामुदायिक र निजी विद्यालय मध्येका १९ वटा विद्यालयको सहभागिता रहेको उक्त खेलमा बेलबारी नगरपालिका वडा नम्बर ११ मा रहेको माउण्ट एभरेष्ट इङ्लिस स्कुलले ११ हजार १ सय १ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाएको थियो भने बेलबारी नगरपालिका वडा नम्बर १ को सगरमाथा इङ्लिस स्कुलले उपविजेता भइ नगद ७ हजार १ सय १ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाएको थियो ।

कार्यक्रम भरी उत्कृष्ट खेल प्रदर्शन गर्ने बेलबारी ४ को यलम्बर इङ्लिस स्कुलले फेयर अफ द टिमको उपनामसहित ट्रफी हात पारेको छ । मोरङ जिल्ला कराते संघका वरिष्ठ उपाध्यक्ष हेमन्त सुबेदीलाई मलेसियामा भएको कोच सेमिनारको परीक्षामा नेपालको तर्फबाट सहभागी भइ मोरङ जिल्लाको पहिलो एसियन कोच हुन सफल भएकोमा सम्मान समेत गरिएको थियो । मोरङ जिल्लाको १७ वटा पालिकाहरूमा डोरीतानको समिति गठन भइसकेको छ ।