‘चपली हाइट २’ बाट नेपाली फिल्ममा डेब्यू गरेकी बोल्ड एण्ड व्यूटिफूल एक्ट्रेस परमिता आरएल राणाले पहिलो पटक तेलुगू फिल्ममा अभिनय गर्ने भएकी छन् । तेलुगू फिल्मका एक्सन सुपरस्टार गोपीचन्दको प्रमुख भूमिका रहने बेनामे फिल्ममा उनी लिड अभिनेत्रीको रुपमा रहेकी छन् । गोपीचन्दसँग फिल्ममा उनको जोडी बाँधिएको छ ।
पछिल्लो रिलिज फिल्म ‘चंगाचेट’ पछि पर्दामा देखिएकी उनको पहिलो तेलुगू फिल्मको शुक्रबार हैदरवादको एक मन्दिरमा शुभमुहूर्त गरिएको छ । बिनु सुब्रह्मण्यमले फिल्मको निर्देशन गर्नेछन् । यही फिल्मबाट उनले निर्देशनमा डेब्यू गर्न लागेका हुन् । निकै ठूलो बजेटमा निर्माण हुने बताइएको फिल्मलाई विभिएसएन प्रसादले निर्माण गर्दैछन् ।
पहिलो तेलुगू फिल्मलाई लिएर आफू निकै उत्साहित रहेको अभिनेत्री परमिताले बताएकी छन् । ‘टलीवुडका सुपरस्टार गोपी चन्दसँग प्रतिष्ठित एसवीसीसी फिल्म ब्यानरबाट मेरो पहिलो तेलुगू फिल्ममा समान पर्दा साझेदारी गर्न पाउँदा आफूलाई सम्मानित महशुस गरेकी छु’, उनले गोपीचन्दसँग फिल्मको मुहूर्तको तस्वीर फेसबुकमा साझेदार गर्दै लेखेकी छन् ।
तेलुगू फिल्ममा काम गर्ने अवसर पाउँदा आफूले गर्व महशुस गरेको उनले बताएकी छन् । अर्को वर्षको जूनबाट यो फिल्मको नियमित छायांकन सुरु हुनेछ । एक्सन-थ्रिलर जनरामा निर्माण हुने फिल्ममा मणि शर्माले संगीत भर्नेछन् । नेपाली फिल्ममा आफूलाई अभिनेत्रीको रुपमा स्थापित गर्न संघर्षरत परमिताको नयाँ फिल्म ‘द कर्मा’ प्रदर्शनको पखाईमा छ ।
‘चपली हाइट २’ पछि उनले केही नेपाली फिल्ममा अभिनय गरिन् । तर, कुनैले बक्सअफिसमा गतिलो व्यापार गरेनन् । यद्यपि, उनको अभिनयको भने चर्चा हुने गरेको छ । विशेषगरि प्रेम र ब्रेकअपका कारण चर्चामा रहने उनले आफ्नो आवाजमा केही गीत समेत निकालिसकेकी छन् । अब उनी आफूलाई तेलुगू फिल्ममा स्थापित गर्ने सोचमा देखिएकी छन् ।
साभारः फिल्मीखबर
































