उदयपुर/ त्रियुगा बसपार्कमा अलपत्र भएकी एक महिलालाई अटो व्यवसायीहरूले आर्थिक सहयोग गरेका छन् । पैसा चोरी भएपछि त्रियुगास्थित नयाँ बसपार्कमा तीन बालबालिकासहित अलपत्र परेकी विष्णु गिरीलाई सिटी स्टार प्रालिका अटो व्यवसायीहरूले सहयोग गरेका हुन् ।

ओखलढुङ्गा कटुञ्जे घर भएकी गिरी उदयपुरस्थित माइती मा आफ्नो भदा लिन आएको बताइन् । आफूसँग भएको तीनहजार सबै चोरी भएपछि बसपार्कमै अलपत्र परेको उनले बताएकी छन् । पैसा चोरी भएपछि खर्च नभएर भदा र दुई छोरीसहित बसपार्कमै अलपत्र परेको उनले बताइन् ।

प्रालिबाट आर्थिक सहयोग प्राप्त भएपछि गिरी खुशी हुँदै आफूले यो ऋण त अर्को जुनीमा पनि तिर्न नसक्ने बताइन् । ‘यति पैसाले म घर पुग्छु । तर अहिले मलाई यस्तै बाध्यता आइलाग्यो, यहाँहरूलाई धन्यवाद दिन्छु’– आशिर्वाद दिँदै उनले भनिन् । बसपार्कमा ग्राहक ठानेर कहाँ जाने भनेर सोध्दा विलौना गर्दै सारा वृत्तान्त सुनाएपछि सिटी स्टार प्रालिमा आबद्ध प्रत्येक अटो र सिटीहरूबाट ५० रुपैयाँका दर सङ्कलन गरी करिब १३ सय रुपैयाँ अलपत्र परेकी गिरीलाई सहयोग गरेको सिटी प्रालिका कोषाध्यक्ष नारायणप्रसाद दाहालले बताए ।

यात्रुसँग भाडा लिनुपर्छ भन्ने मात्रै सोच नभएकाले विभिन्न कारणले अलपत्र परेका यात्रुलाई सहयोग पनि गर्ने गरेको कोषाध्यक्ष दाहालले बताए । पहिलाको कम्पनीमा आबद्ध हुँदा अलपत्र परेका यात्रुलाई सहयोग गर्नुपर्छ भन्दा कुरा नमिलेपछि नयाँ प्रालि गठन गरी दर्तासमेत गरिसकेको उनले बताए । दाहालले भने, ‘मानव भएपछि मानवता पनि हुनुपर्छ । सानो सहयोगले कसैको गन्तव्य पूरा हुन्छ भने र कसैको जीवन बाँच्छ भने किन सहयोग नगर्ने ?’