धरान । केही समयदेखि बन्द रहेको हास्य टेलिशृङ्खला ‘भद्रगोल’ शुक्रबारबाट प्रसारणमा आउने भएको छ ।
नयाँ कलाकारका साथमा प्रसारणमा आउन लागेको हो । यसका केही कलाकारहरू परिवर्तन गरिएका छन् । निर्माण युनिटले नयाँ कथाबस्तुका साथमा प्रशारण हुन लागेको जनाएको छ ।

यसअघि कलाकारका रूपमा रहेका कुमार कट्टेल जिग्री, अर्जुन घिमिरे पाँडेलगायतको टिमले छाडेपछि नयाँ शृङ्खलामा आउन लागेको हो । भद्रगोलका निर्देशकसमेत रहेका पाँडेले केही साताअघि सामाजिक सञ्जालमार्फत् भद्रगोल बन्द भएको जानकारी गराएका थिए ।

सोही जानकारीपछि भद्रगोल पूर्णरूपमा बन्द थियो । उनले आर्थिक समस्याका कारण बन्द गर्नुपरेको जानकारी गराएका थिए । विगत तीन वर्षदेखि निरन्तररूपमा भद्रगोल प्रसारण हुँदै आइरहेको थियो । यही शृङ्खलाले नै पाँडे र जिग्रीलाई स्थापितसमेत गरेको थियो ।

यो पात्र सबैको मुखमा झुण्डिएको थियो । अब भने कस्तो बन्ने हो दर्शकको आम चासोको विषय बनेको छ । हाल प्रशारण हुन लागेको भद्रगोल भने नक्कली बाबुराम बनेर चर्चित बनेका ज्योति काफ्ले र अशोक धितालले निर्देशन गर्न लागेका हुन् । अशोक यसअघि पनि देखिँदै आएका थिए । बाहुन डन बनेर धिताल देखिँदै छन् ।

नयाँ प्रसारण हुन लागेको भद्रगोलमा सुजित थापा, राधा श्रेष्ठ, राम बुढाथोकी, अनुमति नेपालीलगायतका कलाकार छन् । यो हरेक शुक्रबार साँझ ८ बजेर ३० मिनेटमा नेपाल टेलिभिजनमा आउने गरेको छ । यसको प्रस्तुति भने मिडिया हबले नै गर्ने भएको छ ।