धरान/ अल्ट्रा धाविका मीरा राईको नाममा उनकै जन्मथलो पौवादुङ्मा गाउँपालिका–५ सानोदुङ्मामा ‘मीरा राई सामुदायिक विकास केन्द्र’ नामक भवन निर्माण भएको छ ।
भवनका लागि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत मुख्यमन्त्री शेरधन राईले २० लाख रुपैयाँ विनियोजन गरेका हुन् । त्यस्तै भोजपुर सेवा समाज हङकङले २ लाख, सानोदुङ्माबाट वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले ५० हजार र जनश्रमदानबापत् १ लाख ५० हजारको लागतमा भवन निर्माण गरिएको हो ।
भवनको शिलान्यास फागुनको पहिलो साता गरिएको थियो । मुख्यमन्त्री शेरधन राई र आर्थिक मामिला मन्त्री इन्द्र आङ्बोले संयुक्त रूपमा शिलान्यास गरिएको भवन साउनको पहिलो साता सम्पन्न भएको मीरा राई सामुदायिक विकास केन्द्र भवन निर्माण समितिका अध्यक्ष खेमराज तुम्छा राईले बताए । उनका अनुसार एक तले भवनमा एउटा हल र तीन वटा कोठा रहेका छन् । २ सय क्षमताको हल रहेको छ । तर, ट्वाइलेट, बाथरुम तथा भवनको अन्तिम रूप दिन भने बाँकी रहेको उनले बताए ।
‘भवन चाहिँ निर्माण भइसक्यो, रङ्गरोगन, सिलिङ, ट्वाइलेट, बाथरुमको काम डल्लै बाँकी छ’ उनले भने, ‘त्यसका लागि फेरि सहयोगको अपेक्षा गरेका छौं ।’ भोजपुर सदरमुकामबाट करिब १८ किलोमिटर सुदूरपूर्व धनकुटासँग जोडिएको सानोदुङ्मामा हाल मीरा राईको नाममा रङ्गशालासमेत बनिरहेको छ । मीरा राईले उक्त क्षेत्रमा वर्षेनी अल्ट्रा रेस गराउँदै आएकी छन् ।
हालसम्म चौथो अल्ट्रा रेस सम्पन्न भएको निर्माण समितिका सचिव वीजेन्द्र हाङ्माङ राईले बताए । भोजपुरमा अहिले ट्रेल रेस धावकको सङ्ख्या बढ्दै गइरहेको छ । ‘नियमित गर्नेहरू झण्डै ५०–६० छन् होला’–उनले भने । यो पटक भने खुल्लातर्फ ३६ किलोमिटरको ट्रेल रेस गराइएको थियो ।
बहुउद्देश्यीय भवनमा सबै खेलहरूलाई प्रवद्र्धन गर्ने लक्ष्यका साथ बनाइएको हो । हरेक वर्ष अल्ट्रा ट्रेल रेसका लागि देशविदेशबाट झण्डै ५ सयको हाराहारीमा धावक–धाविका आउने गरेका थिए । तर, ग्रामीण भेगमा बस्ने स्थानको अभाव हुँदा समस्या हुँदै आएको थियो । अब सामुदायिक भवन बनेसँगै सहज हुने विश्वास गरिएको छ ।
































