धनकुटा/ नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाले सोमबार जिल्ला भेला तथा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमलाई घेदुङका सङ्घीय अध्यक्ष मोहन गोले तामाङ र सचिव रामकृष्ण ब्लोन तामाङले सहजीकरण गरेका थिए । भेलामा तथा प्रशिक्षण कार्यक्रममा धनकुटा जिल्लाका सातवटै स्थानीय तहमा गठित गाउँपालिका र नगरपालिका घेदुङका अध्यक्ष, सचिव एवम् पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल तामाङ घेदुङका सङ्घीय अध्यक्ष मोहन गोले तामाङले कुनै पनि जातिको भाषा, संस्कार, संस्कृति बचाउने मुख्य आधार नै राजनीति भएको बताए । उनले सामाजिक आन्दोलनमा भुलिरहेको तामाङ समुदायलाई राजनीतिक आन्दोलन बदल्नुमा घेदुङको मुख्य भूमिका रहेको बताए । तामाङले राजनीतिक स्कुलिङ नजान्ने मान्छेहरू क्रान्तिदेखि डराउने बताउँदै अहिले तामाङ समुदायमा राजनीतिक स्कुलिङको अभाव रहेकोले देशव्यापीरूपमा घेदुङ राजनीतिक जागरणको अभियानमा जुटिरहेको बताए ।
उनले घेदुङको राष्ट्रिय महाधिवेशन आगामी ०७६ फागुन २४ देखि २६ गतेसम्म काठमाडौं या धरानमा सम्पन्न गर्ने गरी तयारी भइरहेको बताए । उनले घेदुङले देशव्यापीरूपमा नयाँ विधान र नयाँ संरचना अनुरूप गाउँपालिका, नगरपालिकास्तरमा घेदुङ गठन र जिल्ला भेला गरिरहेको पनि स्पष्ट पारे । उनले जिल्ला भेला, गाउँपालिका र नगरपालिकामा भेला अधिवेशन आगामी मङ्सीरभन्दा पहिले नै गरेर मङ्सीरमा हुने प्रदेश महाधिवेशनमा सहभागी भई राष्ट्रिय महाधिवेशनमा सहभागी हुन सम्पूर्ण तामाङ घेदुङ र तामाङ समाजलाई आग्रह गरेका छन् ।
भेलामा सङ्घीय घेदुङका सदस्य लालचन्द्र गोङ्वा तामाङ, प्रदेश घेदुङका सचिव निरेन तामाङ, पाख्रीबास नगर घेदुङका अध्यक्ष जयन्द्र घिसिङ, छथर घेदुङका अध्यक्ष मनकुमार गोले, महालक्ष्मी घेदुङका सचिव उत्तम तामाङ, धनकुटा घेदुङका अध्यक्ष कुलबहादुर तितुङ, जिल्ला घेदुङका सचिव फुर्वा घिसिङ तामाङलगायतले आ–आफ्नो संस्थाको प्रगति प्रतिवेदन वाचन गरेर सुनाएका थिए । कार्यक्रम जिल्ला घेदुङका अध्यक्ष विष्णु मोक्तान तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
































