भण्टाबारी/ वर्षौंदेखि मर्मत नहुँदा पूर्व–पश्चिम राजमार्गमा पर्ने कोशी ब्यारेज– भण्टाबारी सडक–खण्ड जीर्ण बन्दै गएको छ । कालोपत्रे भत्किएर बनेको खाल्डाखुल्डी नपुरिँदा र स्तरोन्नति नहुँदा यात्रुहरूले जोखिमपूर्ण यात्रा गर्दै आएका छन् ।

पटक–पटक ध्यानाकर्षण गराउँदासमेत सुनसरी र सप्तरीको सीमा जोड्ने कोशी ब्यारेज क्षेत्रमा बाटो मर्मत नहुँदा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । दिनहुँ हजारौं सवारीसाधन गुड्ने बाटो कोशी प्रोजेक्टले मर्मत नगर्दा दुर्घटनाको जोखिम बढेको हो । वर्षाको समयमा कोशी ब्यारेजमा पानीको बहाव बढ्दा बाटो थप जोखिमपूर्ण हुने गरेको छ ।

वर्षापछि जमेको पानीले गर्दा बाटो हिलाम्मे हुने गरेको छ । वर्षौंदेखि यस्तो समस्या हुने गरे पनि सम्बन्धित निकायले ध्यान नदिएको स्थानीय बताउँछन् । बाटोको अवस्था दयनीय बन्दै जाँदासमेत भारतीय पक्षले कहिलेकाहीँ खाल्डाखुल्डी भर्ने काम मात्र गरेको तर दीर्घकालीन समस्याको समाधानतर्फ चासो नदिएको स्थानीय मोहन दासले बताए ।

दैनिक सयौंको सङ्ख्यामा आन्तरिक तथा वाह्य पर्यटक कोशी ब्यारेज घुम्न आउने गरेका छन् । बाटो मर्मतसम्भार नहुँदा वर्षायाममा हिलो र सुख्खा मौसममा धुलोबाट पीडित बन्ने गरेको स्थानीय बलराम क्षेत्री बताउँछन् ।

यता कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले कोशी ब्यारेज कोशी प्रोजेक्ट अन्तर्गत भएको बताउँदै दिन प्रतिदिन बाटोको अवस्था दयनीय हुँदै जाँदा दुर्घटनाको जोखिम बढेको बताए । अन्सारीले कोशी ब्यारेजको बाटो कोशी प्रोजेक्टको कार्यक्षेत्रभित्र पर्ने भएकोले गाउँपालिकाले सूचना प्रकाशित गर्नुबाहेक अन्य विकल्प नरहेको बताएका छन् ।