भद्रपुर । भारतको ७३ औँ स्वतन्त्रता दिवसलाई लक्षित गर्दै नेपाल भारतको सीमावर्ती नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ । झापाको काँकडभिट्टा र भद्रपुर नाकामा तैनाथ भारतीय एसएसबीले सुरक्षा व्यवस्था कडा बनाएको हो । बिहीबार १५ अगस्टका दिन भारतमा स्वतन्त्रता दिवस पर्दछ ।
झापासँग सीमा जोडिएका भारतीय एसएसबी १९ तथा ४१ बटालियन टोलीको नाकामा सुरक्षा व्यवस्था कडा पारेका छन् । भारतीय एसएसबी र प्रहरीले नेपाल प्रहरीसँग समन्वय गरी सुरक्षा मजबुत बनाएको जनाइएको छ । स्वतन्त्रता दिवसका दिन सीमा क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलाप ध्यानमा राख्दै विशेष सुरक्षा व्यवस्था गरेको हो ।
भारतबाट नेपाल आउने र नेपालबाट भारत जाने सर्वसाधारणमाथि एसएसबीले विशेष निगरानी बढाएको छ । सीमा क्षेत्रमा एसएसबीले गस्तीलाई समेत तीव्र बनाएको छ । भारत जानेको सङ्ख्यामा केही कमी आएपनि नेपालीले दुःख नपाएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी गोविन्द बहादुर कार्कीले जानकारी दिए । आवत जावत सामान्य रहेको उनले जनाए ।