इनरुवा/ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकार र आफ्नो विरोधमा जाइलागेकाहरूलाई जनताका बीचमा मैदानमा उत्रिन चुनौती दिएका छन् ।

पण्डितले आफ्नो विरोधमा पुतला जलाउनेहरूकै कारण आयुसमेत लम्बिँदै गएकाले थप काम गर्ने जोस र जाँगर थपिएको बताए । उनले भने, ‘सरकारमा आफू काम गर्नकै लागि चुनिएको हुँ । त्यसैले डर र त्रास देखाएर पण्डित थर्केला भन्ने दिवास्वप्न नदेख्नुस् ।’

तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत जनश्रमसहित ५५ लाख लागतमा निर्माण गरिएको नमूना बस्ती हस्तान्तरणका लागि शनिबार दिउँसो सुनसरीको इनरुवा–६ मधेशा पुगेका सामान्य प्रशासन मन्त्री पण्डितले सरकारको विरोध गर्नेहरूले केही लछारपाटो लाउन नसक्ने ठोकुवासमेत गरे ।

पण्डितले लोकसेवा आयोगको विज्ञापन आफूले नै खोलेको भन्दै तोकआदेश र सोर्सफोर्समा काम गराउनेका दिन गएकाले निष्पक्ष प्रतिस्पर्धामा उत्रन नसक्नेले राजनीतिक मुद्दा बनाएर आन्दोलनको बखेडा झिकेको बताए ।

एक फरक प्रसङ्गमा मन्त्री पण्डितले स्थानीय तहमा लुट मच्चिएको भन्ने जनगुनासो बढेसँगै भ्रष्टाचारमा संलग्न धेरै नेताहरूसमेत जेल जाने सम्भावना बढेको बताए । अख्तियारले सूक्ष्मरूपमा अनुसन्धान गरिरहेकाले कमाउधन्दामा लागेकाहरू जनताबाट बहिष्कारमा पर्नेदेखि छिट्टै अख्तियारको फन्दामा पर्ने दिन आउने बताए ।

मन्त्री पण्डितले मधेशामा निर्माण गरिएका ३ कोठे घर स्थानीय ९ परिवारलाई हस्तान्तरण गरेका छन् । बस्ती निर्माण कार्य उत्कृष्ट भएकाले थप ७० लाख रकम विपन्न परिवारको आवास निर्माणका लागि उपलब्ध गराउने बताएका मन्त्री पण्डितले रकम फ्रिज गर्ने स्थानीय निकायलाई थप रकम उपलब्ध नगराउने समेत स्पष्ट पारे ।

वडा कार्यालयले आयोजना गरेको घर हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष कोषराज अधिकारीसहित नेताहरू पोष्ट नेपाल, खेमराज पोखरेल, शम्भु आचार्य, तीर्थ अधिकारी, दीपक कार्की, तोया गिरी, हेमनारायण चौधरी, जुरीलाल मोचीसहितको उपस्थिति रहेको थियो ।