धरान/ धरानको पुरानो नाट्य संस्था अनाम धरानको नयाँ कार्यसमिति चयन भएको छ ।
अनाममा आबद्ध रङ्गकर्मीहरूको भेलाले अग्रज रङ्गकर्मी शारदा शाक्यको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । कार्य समितिको सचिवमा राजेन्द्र दाहाल, कोषाध्यक्षमा कुलचन्द्र न्यौपाने र सदस्यहरूमा मदन गुप्ता, सुजाता राई, नगेन्द्र राई, सरस्वती योगी, सन्तोष थेवे, शुष्मा लामा चयन भएका छन् ।
पुरानो र सक्रिय नाट्य संस्था भए पनि पटक–पटकको आन्तरिक विवादका कारण पछिल्लो समय निष्क्रिय थियो । नवगठित समितिले रङ्गमञ्चमा नयाँपुस्तालाई आकर्षण गर्नेलगायतको योजना बनाएको छ । अध्यक्ष शाक्यले शुरुमा अलपत्र अवस्थामा रहेको अनामको भवन निर्माण गर्ने र आर्थिक स्रोतको खोजी गर्ने त्यसपछि नाटकलाई निरन्तरता दिने बताइन् ।
२०४२ सालमा अनाम नाट्य जमातका रूपमा स्थापना भएको यो संस्था पछि विभिन्न आन्तरिक समस्याका कारण अनाम नाट्य जमात र अनाम एकेडेमी नाममा दुई टुक्रा भएको थियो । पछि एक भएर अनाम धरान बने पनि यो एकता लामो समय टिक्न सकेन ।
अनाम धरानले डिएफआईडीबाट करिब ५८ लाखको नाटक परियोजना पाएपछि त्यसैको व्यवस्थापनका विषयमा समस्या उत्पन्न भएको थियो । यो विषयमा अदालतमा मुद्दासमेत चलेको थियो । मुद्दा मामिलामा फसेर निष्क्रिय भएको अनाम पुनः सक्रिय बनेपछि धरानेको रङ्गमञ्च फेरि जाग्ने आशा पलाएको छ ।