दमक/ दमक १० का निलकुमार श्रेष्ठको २५ कट्ठा जग्गा छ । उनका अनुसार अहिले यो ठाउँमा २० लाख रुपैयाँप्रति कट्ठा जमिनको मुल्य छ । उनको भनाई अनुसार अहिले उनको जग्गाको मुल्य बढेर ५ करोड रुपैयाँ पुग्योे । त्यो जग्गा केही वर्ष अघिसम्म १ लाख रुपैयाँ प्रति कट्ठामा पनि बिक्री नहुने गरेको उनी बताउँछन् ।
जव त्यस ठाउँमा औद्योगिक पार्क बन्ने हल्ला चल्यो, त्यही बेलादेखि जग्गाको मुल्यमा बृद्धि भएको उनी बताउँछन् । यो बिचमा टोलीहरु नै आएर स्थलगत रुपमा भ्रमण गरेर गएपछि यो ठाउँको महत्व र जग्गाको मुल्य झन् आकाशिन थालेको थियो । त्यसैले तत्काल जग्गाको मुल्य बढेको हो । जग्गा हुनेले तत्कालै फाईदा लिईरहेका छन् । जसको जग्गा छैन उसले पनि औद्योगिक पार्क बनेपछि रोजगार पाउने भन्दै आशा गरेर बसेका छन् । शुक्रबार लगानी बोर्डले यस औद्योगिक पार्कका लागि ६४ अर्ब लगानी गर्ने चिनियाँ कम्पनीको प्रस्ताव स्वीकृत भएपछि यस क्षेत्रका स्थानीय झनै उत्साहित भएका छन् ।
त्यही ठाउँका खगेन्द्र प्रसाद ढुङ्गेल पनि औद्योगीक पार्क बन्ने भएपछि दङ्ग छन् । काम गर्न भन्दै अव छोरा नाती बिदेश नजालान् कि भन्ने उनले ठानेका छन् । ‘बिदेशमा पनि यस्तै कम्पनी मै काम गर्ने हो यहाँ पनि यस्तै कम्पनीमा काम गर्ने भएपछि यस ठाउँका लाठेहरु बिदेश नजालान कि ?’ उनले आँकलन गर्दै भने । सोही ठाउँकी डम्वर कुमारी चौधरी पनि औद्योगिक पार्क बन्ने काम अव चाँडै सुरु हुने खवरले हर्षित छिन् । अव ज्याला मजदुरी गर्न टाढा जानु नपर्ने उनले आशा ब्यक्त गरिन् ।
बास उठ्ने पीर
दमकमा औद्योगिक पार्क निर्माण हुने कुराले यहाँ सबै जना खुसी मात्र भने छैनन् । यसै ठाउँका दोराई धिमाल यसै ठाउको ऐलानी जग्गामा बस्दै आएका छन् । करिव ६ कट्ठा जमिनमा उनी खनी खोस्री गरेर बस्ने गरेका छन् । तर अव यही खनी खोस्री गर्ने ठाउँ लामो समयसम्म नपाउने पीर उनमा छ ।
नेपाल सरकारले यस ठाउँमा औद्योगिक पार्क बनाउने भनेर घोषणा गरेको छ । जसमा यहाँ रहेका ऐलेनी जग्गामा बसोबास गर्नेलाई हटाईने भन्ने हल्ला धिमालले सुनेका छन् । ‘खै उद्योग बन्न थालेपछि हामीलाई उठाउँछ रे , यो ठाउँमा बस्न पाईदैन रे ।’ उनले भने ‘हामीलाई त अझ बिजोग पो पार्छ कि क्या हो ।’ धिमालको आफ्नो नाममा कही कतै जमिन नभएको र उनी यस ठाउँमा वर्षौदेखि खोलाको जग्गामा छाप्रो बनाएर बस्दै आएको बताउँछन् । उनी जस्तै ऐलानी जग्गामा घर बनाएर बस्ने यस ठाउँमा दर्जन बढी परिवार रहेका छन् ।
६४ अर्बको लगानी स्वीकृत
दमकमा ३ खर्वको लगानीमा बन्ने औद्योगिक पार्क निर्माणको प्रकृया अघि बढेको छ । शुक्रबार सरकारको लगानी वोर्डको बैठकले पहिलो चरणमा काम गर्नका लागि ६४अर्व रुपैँयाको प्रस्ताव स्वीकृत गरेपछि औद्योगिक पार्क निर्माणको प्रकृया थप अघि बढेको हो ।
पार्क निर्माणका लागि २ हजार २ सय बिगाहा जमिन आवश्यक पर्छ । साथै यहाँ उद्योगका लागि आवश्यक संरचना निर्माण गर्न मात्र न्यूनतम पनि ३ खर्व लाग्ने अनुमान गरिएको छ । यति धेरै लगानी गरेर उद्योग सुरु भएपछि दमकको कारोबार बृद्धि हुनुका साथै प्रत्यक्ष रोजगारको सुविधा पाउने र नगरबासीको आर्थिक अवस्था समेत माथि उठ्ने दमक उद्योग वाािणज्य संघका अध्यक्ष राजेन्द्र ढकाल बताउँछन् । उनी भन्छन् : ‘यो कामले दमकमा मात्र हैन समग्र नेपालकै आर्थिक अवस्थामा परिवर्तन ल्याउने छ । ’
यस क्षेत्रका सांसद तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले औद्योगिक पार्क निर्माणका लागि ६४ अर्व लगानी स्किृत गरेसँगै यस ठाउँका बासिन्दामा खुसी छाएको स्थानीय जनप्रतिनिधी बताउँछन् । वडा नं १० का वडाध्यक्ष बोधराज न्यौपानेले सरकारको निर्णयले स्थानीय उत्साहित भएको बताए । उनले त्यहाँ रहेका सुकुम्वासीलाई बिकल्प सहितको व्यवस्थापन गरेर समस्याको समाधान गराउने पहल भइरहेको बताउँछन् ।
औद्योगीक पार्क दमक तथा गौरादह नगरपालिका र कमल गाउँपालिका क्षेत्रमा निर्माण हुने छ । ५ सय ९४ कित्ताको ४ सय ११ बिगाहा जमिनका धनीबाट अधिग्रहणका लागि निवेदन परेको छ । जसमा पहिलो चरणमा मुआब्जाका लागि व्यवस्थापन गरिएको ४३ करोड ४४ लाखमध्ये १५ करोड रुपैयाँ मुआब्जाबापत वितरण गरिसकिएको छ । पार्कमा इलेक्ट्रोनिक, अटो मोबाइल्स, गार्मेन्ट, खाद्यान्न लगायत अन्तराष्ट्रिय मापदण्डका उद्योगहरू स्थापना हुने र करिव ३ खर्व रुपैयाँ लगानी रहने जनाइएको छ। यसले करिब १ लाख जनालाई रोजगारीको अवसर दिने बताइएको छ ।
































