उदयपुर/ वर्षौं बितिसक्दा पनि पुल निर्माण नभएपछि उदयपुरको त्रियुगा नदीमा डुङ्गा सञ्चालन शुरु भएको छ । त्रियुगा नदीको सिवाईमा पक्की पुल निर्माण हुन नसक्दा स्थानीयबासी आवत–जावत गर्न डुङ्गा सञ्चालन शुरु भएको हो ।
चौदण्डीगढी नगरपालिका– ५ सिवाईमा पक्की पुल निर्माणको काम नौ वर्ष पहिले शुरु भए पनि निर्माण कार्य पूरा नहुँदा स्थानीयबासी नगरपालिका र बजार जानको लागि पुरानै समस्या झेल्न बाध्य छन् । वर्षा शुरु भएपछि नदीमा पानीको बहाव बढेपछि आवत–जावत गर्नका लागि डुङ्गा सञ्चालन गरेको स्थानीयबासीले बताए ।
सिवाई, सुन्दरपुर, बेल्हालगायत बस्तीका बासिन्दाहरूलाई नगरपालिकाको कामकाज र दैनिक उपभोग्य सामग्री खरिद बिक्री गर्नका लागि बेल्टार बजार धाउनु पर्ने भएकाले सहज बनाउनका लागि डुङ्गा सञ्चालन गरेको स्थानीय भाष्कर चौधरीले बताए ।
स्थानीयलाई पुल बन्ने सपना सपनामै सीमित होला भन्ने डर लागेको छ । वर्षामा पानीको बहाव बढेपछि नदी तर्न नसकिने समस्या पुरानै हो । नदीमा पुल बन्ला अनि ढुक्कले आवत–जावत गर्न पाइन्छ भन्ने सपना अहिलेभन्दा नौ वर्ष पहिले स्थानीयले देखेका भए पनि ठेकेदार कम्पनीको लापरबाहीले गर्दा अहिलेसम्म पुलको काम पूरा नभएको स्थानीय चौधरीले बताए ।
स्थानीयबासीलाई आवत– जावतमा समस्या आएपछि सहजता ल्याउनका लागि पालिकाको समन्वयमा डुङ्गा सञ्चालनमा ल्याएको चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले बताए । डुङ्गाबाट नदी वारपार गर्न अहिले प्रतिव्यक्ति २० रुपैयाँको दरले भाडा लिने निर्णय गरेको मेयर राईले बताए ।
९ करोड ७६ लाख बजेटमा पुलको निर्माण कार्य तीन वर्षभित्र सम्पन्न गर्ने गरी २०६७ असार २३ गते सम्झौता भएको पुलको काम २०७० असार २२ गते सम्पन्न गर्ने गरी महालक्ष्मी लोकप्रिय कन्स्ट्रक्सन जेभीले पुलको ठेक्का लिएको थियो ।
२०७० सालभित्र सम्पन्न गर्ने गरी ठेक्का लागेको थियो । दुई लेनको ३ सय ७ मिटर लम्बाइ रहेको पुलको १३ वटा पिलरमध्ये ९ वटा मात्रै बन्दैछ । कुनै पिलरको जगसमेत नराखेको पुलको ४ पटक म्याद थपिसकेको छ ।
पुलको निर्माण कार्य निर्धारित समयमा नसकिएपछि पटक–पटक म्याद थप्दै पछिल्लो पटक थपिएको म्याद २०७६ असारसम्म थपिए पनि काम हुन सकेको छैन । तराई र पहाडी जिल्ला जोड्ने पुल बन्न निर्माण हुन नसक्दा स्थानीयबासी प्रभावित भएका छन् ।
धरान–चतारा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा जोड्ने मदन भण्डारी राजमार्गले छुने बेल्टार बजारनाका छुने र २ नं. प्रदेशको सप्तरीको फत्तेपुर–कञ्चनपुरलाई जोड्ने पुल बन्न नसक्दा स्थानीयबासीहरू वर्षामा डुङ्गा सयर गर्न बाध्य भएको स्थानीय भिखन चौधरीले बताए ।
पुल निर्माण नहुँदा बाध्यताले हरेक वर्ष नदीमा डुङ्गा सञ्चालन गर्दै आएको स्थानीय चौधरीले बताए । वर्षासँगै स्थानीयबासीलाई नदी तर्न समस्या पर्ने गरेको उनलेब बताए ।