उदयपुर । उदयपुरमा थुनुवालाई लागूऔषधबारे एक दिने सचेतना कार्यक्रम गरिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले लागूऔषधका मुद्दामा जेलजीवन कटाइरहेका करिब २२ जना थुनुवाहरूलाई लागूऔषध बारे सचेत गराएको हो ।
जिल्लामा लागूऔषध समस्या निकै विकराल बनेको र युवाहरू लागूऔषध दुव्र्यसनमा फसेकाले थुनुवाहरूलाई सचेत गराएका थिए । नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक सङ्घ–संस्था, विद्यालयलगायतको साझेदारीमा कार्यक्रमको आयोजना गरिएको थियो । लागूऔषध दुव्र्यसनले युवाहरूको भविष्य अन्धकार हुने भएकाले यसको रोकथामका निम्ति धेरै प्रयासहरू भए पनि नियन्त्रण भने हुन सकेको छैन ।
लागूऔषधले देशको दक्ष जनशक्ति नष्ट गर्दै गएकाले थुनुवाहरूलाई यस बारे सचेत गराएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीरबहादुर बुढामगरले बताए । अधिकांश युवायुवतीहरू लागूऔषध दुव्र्यसनमा होमिने भएकाले देशको खम्बा अर्थात् कर्णधार मानिने युवाशक्ति यस्तो दुव्र्यसनमा लाग्न नहुने एसपी बुढामगरले बताए । यसले युवाहरूको भविष्यमा ठूलो क्षति पुग्ने र युवाहरूलाई तहस–नहस बनाउँदै गएको उनले बताए ।
लागूऔषधले राष्ट्रमा युवा जनशक्तिको अभाव बनाउन सक्ने भएकाले यस्ता चिजलाई त्यागेर व्यक्तिगत विकासमा लाग्नुपर्ने सुझाएको थियो । मानव जीवनको महŒवपूर्ण आवश्यकता भनेकै स्वास्थ्य र सन्तुष्टि भएकाले यसको महत्व बुझेर खराब वस्तु र बानीलाई त्याग्नु पर्छ ।
यस्ता खालको लतलाई छाड्न सकिने र तत्काल छाड्न पहल गर्नुपर्ने लागूऔषध दुव्र्यसन विरुद्धका अभियानकर्ता सागर नेपालले बताए । लागूऔषधमा फसेका व्यक्तिले पुराना कुरा बिर्सिएर सकारात्मक पाटोलाई अँगाल्नु पर्ने अभियानकर्ता नेपालले बताए । युवा अवस्थामा कुलतमा फसेका तर पछि सबै बिर्सिएर सकारात्मक पाटोलाई अँगाली सफल भएका उदाहरणीय पात्रहरू पनि धेरै भएको उनले बताए ।
































