काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालको पर्यटन प्रवद्र्धन, कनेक्टिभिटीलाई स्थापित गर्न, अन्तर्राष्ट्रिय विमानस्थल समयमा सम्पन्न गर्न, पूर्वाधारहरु निर्माण गर्न र नेपाललाई पर्यटकीय गन्तव्य बनाउन आफूले भूमिका खेल्ने बताए छन् ।

मन्त्री नियुक्त भएपछि पेरिसडाँडा पुगेर जनयुद्धका शहीदको स्तम्भमा माल्यार्पण गर्दै भट्टराईले आफूले जिम्मेवारी पाइसकेपछि अल्मलिएर नबस्ने बताएका छन् ।

‘बल्ल त ब्याटिङ गर्न आएको छु, हानौंला न छक्का चौका, एकएक रन लिएर अलमलिएर नबस्ने, छक्का चौका हान्ने हो ।’ मन्त्री भट्टराईले भने ।

सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री भट्टराईले लक्ष्य उद्देश्यअनुसार सविस्तार काम गर्ने र जानकारी गराउने बताए ।

भ्रमण वर्ष–२०२० सामुन्नेमा आएको बताउँदै मन्त्री भट्टराईले तदारुकताका साथ काम गर्ने बताए ।