विराटनगर / प्रदेश १ सरकारले कृषि अधिकृत, प्राविधिक सहायक र नायव प्राविधिक सहायकलाई करारमा नियुक्ति गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सेवा करारमा छनोट गर्नेसम्बन्धी कार्यविधि २०७६ स्वीकृति प्रदान गरेसँगै कर्मचारी छनोटको बाटो खुलेको हो ।
प्रदेश सरकारले कर्मचारीको पदस्थापना तथा सरुवा सम्बन्धित कार्यविधि २०७६ मा संशोधन गरेको छ । कार्यविधि अनुसार अब नबौं र दशौं तहका कर्मचारी सरुवा बढुवा वा पदस्थापनको जिम्मेवारी मुख्यमन्त्री कार्यालयको हुने प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए ।
प्रदेश सरकारले संगठन तथा व्यवस्थापन सर्भेक्षणका लागि प्रमुख सचिव सुरेश अधिकारीको नेतृत्वमा सबै मन्त्रालयका सचिव रहनेगरी कार्यदल पनि गठन भएको छ । यस प्रदेशलाई डिजिटल प्रदेश कार्यान्वयनका लागि अवधारणा पारित गर्नुको साथै बैठकले मनमोहन प्राविधिक विश्वविद्यालको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेकयक २०७६ लाई प्रदेशसभामा पेश गर्ने निर्णय पनि गरेको छ । बैठकले स्थानीय आर्थिक विकासको लागि पर्यटन पदमार्ग निर्माण गर्न आयोजना अनुमति प्रदान गरेको छ । प्रदेश सरकारले पदमार्गबारे नीति कार्यक्रममा उल्लेख गरेको थियो ।
बैठकले प्रदेश श्रम सल्लाहकार परिषद् गठन सम्बन्धी निर्देशिका, अपाङ्गता भएका व्यक्तिहरुको प्रदेशस्तरीय समिति गठनसम्बन्धी कार्यविधि पनि पारित गरेको छ । यस्तै महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७५ र मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७५ प्रदेशसभामा पेश गर्ने प्रदेश सरकारको निर्णयमा उल्लेख छ ।